देश संकटका बेला राष्ट्रिय एकताका साथ उद्दार तथा राहत व्यवस्थापनमा लाग्नुपर्छ:सांसद पार्वती वि क
  • विदुर न्युज

काठमाडौ । नेकपा सचेतक तथा प्रतिनिधिसभा सदस्य पार्वती विकले बाढी तथा पहिरोको संकटका बेला राजनीतिक दलका विषयभन्दा माथि उठेर राष्ट्रिय एकताका साथ उद्धार तथा राहतमा जुट्नुपर्ने बताएककि छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विकले विपद्को समयमा सरकारले कुनै पनि कमजोरी नगरी नागरिकको जीउधनको सुरक्षा गर्नुपर्ने बताइन् ।
‘बाढीको संकटका बेला पार्टीका कुरा होइन, राष्ट्रिय एकताका साथ उद्धार कार्यमा लाग्नुपर्छ,’ उनले भनिन् । विकले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि राज्यका सबै संयन्त्र तथा क्षेत्रलाई परिचालन गर्न सरकारसँग माग गरिन् । अहिले ‘बचाऊ, बचाऊ’ भन्दै गुहार मागिरहेका नागरिकलाई तत्काल उद्धार गर्नुपर्ने उनको भनाइ छ ।
‘सरकारले यतिबेला कुनै पनि कमजोरी राख्नुहुँदैन, नागरिकको जीउधनको लागि । जो अहिले बचाऊ, बचाऊ भनेर चिच्चाइरहनुभएको छ, उहाँहरूलाई छिटो उद्धार गर्नुपर्छ,’ उनले भनिन् ।
उनले प्रभावित नागरिकको जीवनरक्षा पहिलो प्राथमिकतामा राख्दै उद्धार र राहतका लागि सबै क्षेत्रलाई परिचालन गर्नुपर्नेमा जोड दिइन् ।
यसैगरी, केही दिनअघि जाजरकोटमा आएको बाढी तथा पहिरोबाट विस्थापित परिवारले अझै उचित व्यवस्थापन पाउन नसकेको भन्दै विकले उनीहरूको शीघ्र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले बाढी तथा पहिरोबाट विस्थापित परिवारलाई सुरक्षित आवास, राहत तथा आवश्यक सहयोग उपलब्ध गराई तत्काल व्यवस्थापन गर्न माग गरिन् ।

  • १० भाद्र २०८३, बुधबार १६:४६ प्रकाशित
  • सम्बन्धित