जाजरकोट — नलगाड नगरपालिका–३ पारिकरुवास्थित श्री नमुना प्राथमिक विद्यालयमा कार्यरत एक शिक्षक हिरासतमा रहेका बेला पनि विद्यालयको हाजिरीमा उपस्थित देखिएको घटना सार्वजनिक भएको छ।
विद्यालयमा अध्यापनरत राहत शिक्षक दल बहादुर थापा जेठ १४ गतेदेखि जिल्ला प्रहरी कार्यालय जाजरकोटको हिरासतमा रहेका थिए। गाउँकै एक महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। उनी असार २ गतेसम्म करिब २० दिन हिरासतमा बसेका थिए।
तर, हिरासतमा रहेका अवधिभर पनि शिक्षक थापाको विद्यालयको हाजिरीमा नाम देखिएको खुलेको छ। स्रोतका अनुसार उनले जेठ २९ गतेसम्मको हाजिरी अगावै लगाएर प्रहरीको सम्पर्कमा पुगेका थिए।
थापा विगत केही वर्षदेखि सोही विद्यालयमा अध्यापन गराउँदै आएका थिए। विद्यालयमा शिक्षक अभाव भएपछि गाउँलेको सिफारिसमा उनलाई राहत शिक्षकका रूपमा नियुक्त गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक लक्ष्मी थापाका अनुसार शिक्षक थापा विद्यालयमा अनुपस्थित रहेर पनि हाजिरी लगाएको विषय जेठ १८ गते विद्यालय खुलेपछि मात्र थाहा भएको हो। “जेठ १४ गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा परेकाले ढिलो जानकारी भयो,” उनले भनिन्।
प्रधानाध्यापक थापाले उक्त घटनाबारे आवश्यक कारबाहीका लागि नलगाड नगरपालिकामा पत्राचार गरिएको जानकारी दिइन्।
उता, नलगाड नगरपालिकाका शिक्षा शाखा प्रमुख अमृत पुनले घटनाको अध्ययन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताएका छन्।
स्थानीयका अनुसार शिक्षक थापा यसअघि पनि लागूऔषध सम्बन्धी मुद्दामा केही वर्ष कारागार बसेका थिए। त्यसबेला पनि उनी सोही विद्यालयमा कार्यरत थिए। कारागारबाट छुटेपछि विद्यालयले पुनः उनलाई नियुक्त गरेको थियो। पटक–पटक कानुनी विवादमा परेका व्यक्तिलाई शिक्षकका रूपमा निरन्तरता दिन नहुने भन्दै अभिभावक तथा गाउँलेले आपत्ति जनाएका छन्।























