जाजरकोट । जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।
जाजरकोटको भेरी नगरपालिका ४, शान्तिचौतारादेखि सोही वडाको बोहरातर्फ जाँदै गरेको ट्याक्टर बोहरा मोडनजिकै दुर्घटना भएको थियो । दुर्घटनामा तीनजना घाइते भएका थिए । तीमध्ये एक जनाको उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा कुशे गाउँपालिका ७, समाइलाका सह-चालक १७ वर्षीय लोकेश जैसी छन् । बोहरातर्फ चामल लिन जाँदै गरेको भे.२त ३८८ नम्बरको ट्याक्टर बुधबार दिउँसो १ बजेतिर दुर्घटना भएको थियो । घाइते हुनेमा चालक कुसे गाउँपालिका ७, समाइलाका २६ वर्षीय नवराज जैसी र कुसे गाउँपालिका ५ का २० वर्षीय हरिचन्द्र सिंह छन् ।
जिल्ला प्रहरी प्रमुख सन्तोष निरौलाका अनुसार दुर्घटनामा एकजना सामान्य र अन्य दुईजना सख्त घाइते भएका थिए । सख्त घाइते चालक र सह-चालकलाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको र सह-चालक जैसीको बाटोमै मृत्य भएको निरौलाले जानकारी दिए । उनका अनुसार ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।