काठमाडौँ :
दार्चुलाको व्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा खसेर एक बालक बेपत्ता भएका छन्।
नेपालको व्यासबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नं ४ डोकटका १० वर्षीय बालक दीपेन्द्र विष्ट महाकाली नदीमा बेपत्ता भएको स्थानीय दीपक खातीले जानकारी दिए।
घटनाबारे जानकारी प्राप्त भएपछि सत्यतथ्य बुझ्न प्रहरी चौकी सुन्सेराबाट वरिष्ठ प्रहरी सहायक निरीक्षक भरत अधिकारीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाएको दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारीले जानकारी दिए।
बेपत्ता दीपेन्द्र गत बिहीबार दिउँसो २ बजे भारततिर खर काट्न गएकी आमाको पछिपछि गएका थिए। व्यास क्षेत्रमा सञ्चार सुविधा नभएका कारण घटनाबारे आजमात्रै जानकारी भएको व्यास गाउँपालिकाका प्रवक्ता नरेन्द्र भट्टले बताए। उनका अनुसार बेपत्ता दीपेन्द्र ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत छन्।
डोकटका बासिन्दा खर काट्न भारततिर जाने चलन रहेको र सय मिटरमाथि झोलुङ्गे पुल भए पनि सजिलोका लागि स्थानीयले त्यस क्षेत्रमा तुइन हाल्ने गरेका छन्। तुइन काट्ने डरले स्थानीय बासिन्दाले घटना बाहिर नल्याएको हुनसक्ने स्थानीय दीपक खातीले बताए।