रवि लामिछानेका बारे टिप्पणी गर्नुअघि पत्रकारले दुईपल्ट सोच्नुपर्ने भएको छ । पहिलोपल्ट सोच्न बाध्य गराउँछन्, स्वयं पत्रकारहरुले । उनीहरु भन्छन्, ‘सय दिन त हेर्न दिउँ । टिप्पणीलाई हतार के छ र ?’ दोस्रोपल्ट सोच्न बाध्य गराउँछन्, पत्रकारिताभन्दा बाहिरका महानुभावहरुले । उनीहरु भन्छन्, ‘एउटा पत्रकारले राजनीतिमा आएर गरिखाएको तिमीलाई किन हजम नभएको ?’
तर पुस दोस्रो साताका दुई–चार ट्रेलर हेरिसकेपछि केही त बोल्नैपर्ने भयो । किनभने अस्तिसम्म हामीलाई राजनीतिक अस्थिरता होला कि भन्ने डर थियो । यही ताल जारी रहने हो भने हामीलाई राजनीतिक स्थिरता होला कि भन्ने डर पैदा हुनेछ ।
आज सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले गृहमन्त्रालयमा इमर्जेन्सी एक्जिट डोर बनाउन निर्देशन दिएका छन् । त्यो साधारण प्राविधिक विषय पनि देशको मुख्य समाचार भइसकेको छ । चिन्ता एक्जिट डोर बन्ला भन्ने होइन, अधिक प्रचारमोहको प्रवृत्ति पल्केला भन्ने हो ।
पत्नी निकिताको जन्मदिन मनाउने क्रममा उनले बर्थडे केक काटेनन्, जुजु धौ काटे । बत्ती निभाएनन्, बरु बाले । त्यो ‘व्यक्तिगत कुरा’ पनि समाचार भइसकेको छ । सारा मिडियाले छाप्दा, बजाउँदा हामी पछि पर्ने कुरै भएन । एउटा पत्रकारले नेता भएर गरिखाएको हामीलाई हजम नहुने आखिर कुरै थिएन ।
‘रवि दाइ’ ले सलामी नलिन पनि सक्थे । तर सलामी लिए । त्यसमा ‘सारभूत अन्तर’ छ– उनी पिर्कामाथि चढेनन् । धन्न, उनी बद्नाम हुनबाट बचे । उनका लागि समस्या पिर्कामा थियो, सलामीमा थिएन । सोसल मिडियाले रविको आरती उतार्दा हामी मिडियाले समाचार दिन छाड्ने कुरै थिएन ।
अब समाचारसँगै केही यस्सो टिप्पणी गर्नुपर्ने भएको छ । नत्र गृहमन्त्री बनेसँगै उनले बोलेको ‘हामी क्याबिनेटभित्र प्रतिपक्षी बन्ने’ टाइपका घोषणा पचाउन छुट्टै किसिमको क्षमता आवश्यक पर्न सक्छ ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा एमालेले बनाएको गठबन्धन सरकारमा लामिछानेको स्वघोषित ‘मध्य–दक्षिणपन्थी दल’ राष्ट्रिय स्वतन्त्र पार्टी सत्तासीन भएको छ । (यो पंक्तिकारसँग चुनावअघि अन्तर्वार्ता क्रममा लामिछानेले आफ्नो दल मिडल राइट फोर्स बन्ने बताएका थिए)।