टोपबहादुरबारे ओलीको प्रतिक्रिया : दोषी उम्किनु हुँदैन, फसाउन खोजिए सहँदैनौँ
  • विदुर न्युज

काठमाडौं :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका सचिव टोपबहादुर रायमाझी नक्कली शरणार्थी प्रकरणमा तानिएको हो कि तनाएको भन्ने विषयमा अध्ययन गरिरहेको प्रतिक्रिया दिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार सिंहदरबारमा भेटेपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले आफूहरू दोषी उम्काउने पक्षमा नरहेको बताए।

‘निर्दोष पर्नुहुँदैन, दोषी उम्किनु हुँदैन। दोषी उम्काउने हाम्रो प्रयास हुँदैन।’ ओलीले भने,‘ निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौँ।’

ओलीले एउटा बहालवाला सांसद, पटकपटक मन्त्री र उपप्रधानमन्त्री भइसकेको मान्छेलाई षड्यन्त्रपूर्वक ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने अवस्था नरहेको बताए।

‘मैले हिजो तपाईंलाई पक्राउ पूर्जी जारी गरेको सुनेँ के हो भनेर सोधेको थिएँ’, ओलीले भने, ‘उहाँले मैले आइजीपीलाई सोधेँ त्यस्तो होइन कुरा के हो स्पष्ट परिदिनुपर्ला भनेको छ। भोलि काठमाडौं आउँदैछु भनेर भन्नुभएको थियो। अहिले पक्राउ परेको भन्ने पनि सुनेको छु,  फरार छन् पनि भनेको सुन्छु के हो थाहा छैन।’

रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परे पनि उनी अझै पक्राउ नपरेको प्रहरीले जनाएको छ।

  • २१ बैशाख २०८०, बिहीबार १९:१३ प्रकाशित
  • सम्बन्धित