मंसिर चार गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा जाजरकोटमा १ हजार १ सय ९३ जना सुरक्षाकर्मी खटाइएको छ । निर्वाचनमा ४ सय २६ जना नेपाल प्रहरी र ८ सय ७० जना म्यादी प्रहरीलाई खटाइएको छ । प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि एकै पटक निर्वाचन हुदै छ । निर्वाचनलाई निश्पक्ष र भय रहित बनाउन सुरक्षाकर्मीहरु खटाइएको जिल्ला प्रहरी नायव उपरिक्षक सन्तोष निरौलाले जानकारी दिए । निरौलाका अनुसार निर्वाचन केन्द्रको अवस्था र आवश्यकता अनुसार सुरक्षाकर्मीको संख्यामा थपघट गराइने छ ।
जाजरकोटमा १ सय ४२ स्थायी र १ अस्थायी गरी १ सय ४३ मतदान केन्द्र छन् । प्रत्येक मतदान केन्द्रमा सुरक्षाकर्मी खटीसकेका छन् । सुरक्षा निकायलाई बलियो बनाउन यसलाई तिन सतहमा विभाजन गरिएको छ । सुरक्षाकर्मीको पहिलो संयन्त्रको रुपमा नेपाल प्रहरी र म्यादी प्रहरीलाई खटाइएको छ । त्यस पछि शसस्त्र प्रहरी बल र नेपाल आर्मीलाई सुरक्षा संयन्त्रको रुपमा खटाइएको प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले जानकारी दिएका छन् । शसस्त्र प्रहरी बल मतदानको समय कुनै घटना घटेको ३० मिनेटमा पुग्नु पर्ने सुरक्षा रणनीति अपनाइएकोछ । नेपाल आर्मीको बल भने विशेष अवस्थामा परिचालन हुने छन् । चुनाव बिथोल्ने वा भड्काउने खालको कुनै पनि अनैतिक कार्य गर्ने व्यक्ति वा समूहलाई कडा कार्वाही गरिने समेत न्यौपानेले बताएका छन् । निर्वाचनको दिन अझ कडा सुरक्षा दिन सुक्ष्म निगरानीका लागि सादा पोसाकमा प्रसस्त मात्रामा प्रहरी जनशक्ति खटाइने छ । आम नागरिकलाई सक्षम नेता चुन्ने आफ्नो अधिकार सहि तरिकाले प्रयोग गर्न र निर्वाचनलाई सफल पार्न डिएसपि निरौला र प्रजिअ न्यौपानेले सबै नागरिक माझ अपिल गरेका छन् ।