जाजरकोट । गत आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लाभर ४६ वटा सवारी दुर्घटना भएका छन् । जसमा २५ जनाले ज्यान गुमाएका छन् । ती दुर्घटनामा परी ८६ जना घाइते भएका छन् । जिप, ट्याक्टर, बस, ट्रक र मोटरसाइकल दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, जिल्लाभित्र चल्ने ४ हजार ५ सय ८० बढी सवारी कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार एक वर्षको अवधिमा ४ हजार ५ सय ८० वटा सवारी कारबाहीमा परेका हुन् ।
आर्थिक वर्ष २०७८÷०७९ को साउन १ गतेदेखि असार ३२ गते सम्म नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक भरतबहादुर शाहीले २ हजार १ सय ८४ मोटरसाइकल, ७ सय ३४ बस, ४ सय २४ ट्रक, ३ सय ८६ ट्याक्टर र ७ सय ११ जिप कारबाहीमा परेको जानकारी दिए ।
सवारी कारबाहीबाट गत आर्थिक वर्षमा ३९ लाख ११ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको शाहीले जानकारी दिए । दर्ता नभएका, रुट परमिट नभएका, लाइसेन्स नभएका, रुट परमिट नभएका, क्षमताभन्दा बढी यात्रु तथा सामग्री बोकेका सवारी साधन कारबाहीमा परेको प्रहरीले जनाएको छ ।