काठमाडौं ।
स्पट फिक्सिङको आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट खेलाडी मोहम्मद आदिल आलम र पूर्व राष्ट्रिय खेलाडी मेहबुब आलमलाई प्रहरीले सम्बन्धित जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान शुरु गरेको छ।
नेपाल टी–२० लिग क्रिकेटका दौरान आर्थिक प्रलोभन देखाई स्पट फिक्सिङ गर्ने प्रयासमा संलग्न भएको आरोपमा यी दुई खेलाडीलाई सिआइबीको निर्देशनमा प्रहरीले पक्राउ गरेको हो। सिआइबीको प्रारम्भिक निष्कर्षमा मोहम्मद आदिल आलमले प्रत्येक खेलमा नो बल र वाइड बलका लागि गरेको एप्रोच स्वीकार्दै उनले खेलेका २ खेलमा सोही प्रकृतिको खेल खेलेको पाइएको छ।
सिआइबीका अनुसार नेपाली ३ जना खेलाडीलाई फिक्सिङको अफर आए पनि दुई जना मात्रै उक्त फिक्सिङमा संलग्न भएको पाइएको छ। फिक्सिङमा १० जनाको टोली संलग्न रहेकोमा २ जना खेलाडीसहित ४ जना बिचौलिया रहेका छन्।
आरोप प्रमाणित भएमा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ३१ अनुसार कारवाही हुनेछ। म्याच फिक्सिङ गरेको पाइए दफा ३३ अनुसार ३ वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना गरी सो कसुर गर्दा कुनै रकम लेनदेन गरेको पाइए सो रकमसमेत जफत हुने उल्लेख छ।