कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता
  • विदुर न्युज

काठमाडौँ ।
संघीय संसद् सचिवालयले कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ । सचिवालयले पत्र लेखेर कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले विपक्षी दलको नेताको हैसियतमा सेवा सुविधा प्राप्त हुने जानकारी गराएको हो ।

यसअघि कांग्रेसले पार्टीलाई विपक्षी दलको मान्यता दिँदै सेवा सुविधा उपलब्ध गराउन संसद सचिवालयमा पत्र पठाएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएकाले कांग्रेसले प्रमुख विपक्षी दल हुन नपाउने भन्दै आलोचना भइरहेका बेला संसद् सचिवालयले कांग्रेसलाई विपक्षी दलको सेवासुविधा उपलब्ध हुने बताउँदै पत्र लेखेको हो ।

पुस २६ गते प्रतिनिधिसभामा भएको मतदानमा कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो । सत्ता गठबन्धन बाहिरका कांग्रेस, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको समेत मत दिँदा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले मात्र विपक्षमा मतदान गरेका थिए ।

विपक्षी दलका नेताले प्रतिमहिना पारिश्रमिक ६० हजार ९ सय ७० रुपैयाँ पाउनेछन् । त्यस्तै विशेष भत्ता प्रतिमहिना १ हजार, बैठक भत्ता प्रतिदिन १ हजार, सञ्चार सुविधा प्रतिमहिना ३ हजार, आवास सुविधा प्रति महिना २५ हजार ६ सय ८ रुपैयाँ पाउँछन् । त्यस्तै फर्निचर खर्च एकमुष्ट १५ हजार, निजी सचिवालय बन्दोबस्त १ हजार ७ सय ५०, सवारी इन्धन प्रतिमहिना २३० लिटरलगायत सेवा सुविधाका साथै स्वकीय सचिव, सवारी चालक र सुरक्षाकर्मी लगायत सेवा सुविधा पाउने ब्यवस्था रहेको संसद सचिवालयले जनाएको छ ।

 

  • ९ माघ २०७९, सोमबार २२:१५ प्रकाशित
  • सम्बन्धित