काठमाडौँ :
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारलाई सम्मानित र पारदर्शी बनाइछाडने बताएका छन्।
ऐन संशोधन गरेर भए पनि वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी बनाउन सरकार तयार रहेको बताएका छन्।
शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
श्रममन्त्री र सचिवसँग राम्रो जानकारी लिएर यसलाई सम्मानित बनाउने बताए। वैदेशिक रोजगारीको क्षेत्रमा भएका विकृति विसङ्गति रोक्न व्यवसायीहरूको सहयोगको आवश्यकता रहेको बताए।
उनले समयअनुसार वैदेशिक रोजगार व्यवसायलाई सम्मानित पारदर्शी, प्रभावकारी बनाउने र गलत क्रियाकलापलाई निरुत्साह गर्ने प्रक्रियामा केही प्रगति भइरहेको बताए।
प्रधानमन्त्री दाहालले हेरक क्षेत्रमा जनता र राष्ट्रको निम्ति केही नयाँ शुरुवात गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘वैदेशिक रोजगारीको क्षेत्रमा विगतमा धेरै विकृति विसङ्गति नभएका होइनन्। अहिले रोजगारी ऐन २०६४ परिमार्जन गर्नुपर्ने आवश्यकता बारेमा र सरकारले श्रमिकका हक हितलाई उच्च प्राथमिकताका दिनेछौँ।’
श्रमिकको जीवन र पसिना बगाएर कमाएको सम्पत्तिको सुरक्षा र सम्मानका निम्ति आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा यो विषयमा ध्यान केन्द्रित भएको उनको दाबी थियो। मन्त्री र सचिवसँग राम्रो जानकारी लिएर ऐन संशोधनदेखि वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी र सम्मानित बनाउन कुनै कसर बाँकी नराख्ने उनको स्पष्टोक्ति थियो।
उनले भने‚ ‘मैले हेरक क्षेत्रमा देश र जनताका निम्ति केही नयाँ शुरुवात गर्नु छ। त्यसको लागि सबैको सहयोगको आवश्यकता रहन्छ। व्यवसायीहरूले नै वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विकृति विसङ्गति रोक्न सहयोग गर्न सक्नुहुन्छ। व्यवसायीहरूले सरकारलाई सहयोग गर्दा सरकार मैत्रीपूर्ण सम्बन्ध कायम गर्न तयार छ।’
प्रधानमन्त्री दाहालले वैदेशिक रोजगार व्यवसायीहरूले नै वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विकृति विसङ्गति रोक्न सहयोग गर्न आग्रह गरे। उनले व्यवसायीहरूले सरकारलाई सहयोग गर्दा सरकार मैत्रीपूर्ण सम्बन्ध कायम गर्न तयार रहेको पनि बताए।