भैरहवा ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण सम्पन्न भएको गौतम बुद्ध विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय उडान ठप्प छ ।जहाजलाई अवतरण गराउँदा सटीक मानिने उपकरणमा आधारित अत्याधुनिक प्रणाली इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम ९आईएलएस० जडान गरिए पनि सञ्चालनमा भारतले असहमति राखेको छ । यो प्रणाली सञ्चालन नभएकाले खराब मौसमको सामना गर्न नसक्ने भन्दै कुवेतको जजिरा एयरवेजको जहाज सिधै काठमाडौं आउन थालेको छ । भैरहवामा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु गरेको जजिरा काठमाडौं फर्किएसँगै अरू अन्तर्राष्ट्रिय वायुसेवा पनि हच्किएका छन् ।
खराब मौसम, हिमपात र अँध्यारोमा जहाजलाई सुरक्षित अवतरण गराउन मार्गदर्शन गर्ने आईएलएस विमानस्थलको धावनमार्गमा जडान गरिएको छ । यसकै आधारमा एरोथाईको विशेष विमानले परीक्षण उडान गरेको थियो ।
कुनै पनि विमानस्थलको विवरण विश्वभरका वायुसेवाका लागि एयर र्याकमा प्रकाशन गर्नुर्पर्छ । तर गौतम बुद्ध विमानस्थलको ‘बफर–एरिया’ भारतीय वायु क्षेत्रमा पसेको भन्दै भारतले आईएलएस सञ्चालनमा सहमति दिएको छैन । त्यसैले नेपाल नागरिक उड्डयन प्राधिकरणले यो विमानस्थललाई एयर र्याकमा प्रकाशन गर्न नसक्दा व्यावसायिक उडान प्रभावित भएका छन् ।
‘भैरहवा विमानस्थलमा अवतरण हुने विमान भारततर्फ जाने होइनन्, आईएलएस प्रणालीको बफर ९प्रोटेक्सन० एरिया भारतको वायु क्षेत्रमा पसेको हो । यो भनेको सीमा क्षेत्रमा रहेका रेडियो वा मोबाइलको सिग्नल पारिपट्टि अर्को देशमा गएजस्तो हो, जहाजै प्रवेश गरेको अवस्था होइन,’ प्राधिकरणमा रहेका यस विषयका एक जानकारले भने, ‘हामी कुनै पनि समयमा आईएलएस सञ्चालन गरेर सेवा दिन सक्छौं तर त्यसका लागि भारतसँग प्राविधिक समन्वय गर्नुपर्छ । हाम्रा सबै तयारी र काम सकिइसकेका छन् । उताको सहमति मात्रै कुरेका हौं ।’
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार एयर र्याकमा प्रकाशन नभएसम्म यसलाई व्यावसायिक उडानमा सञ्चालन गराउन पाइँदैन । जहाज अवतरण गराउने आईएलएस सुविधा पाइलटहरूको रोजाइमा पर्छ । नेपालबाहिर जहाज उडाउँदै आएका एक वरिष्ठ पाइलटका अनुसार अन्तर्राष्ट्रिय वायुयान कम्पनीहरू कुनै पनि नयाँ गन्तव्यमा जानुअघि ती गन्तव्यका विमानस्थलमा सबैभन्दा पहिले आईएलएस छरछैन हेर्छन् ।
‘विश्वमा अहिले जहाज अवतरण गराउन प्रमुख रूपमा दुई थरी सुविधा छन्,’ ती पाइलटले भने, ‘एउटा सटीकता भएको प्रिसिजन र अर्को नन्प्रिसिजन एप्रोच प्रणाली । अहिले विकास भएको प्रिसिजन एप्रोचमा जहाज धावनमार्गको बिन्दुसम्मै आइपुग्छन् । पाइलटले ल्याउनै पर्दैन । त्यसैले अहिलेका पाइलटहरू आईएलएस खोज्छन् । सटीकता नभएको नन्प्रिसिजनमा उपकरणहरूले एउटा बिन्दुसम्म जहाजलाई ल्याइदिएपछि पाइलटले बाँकी निर्णय गर्नुपर्छ । दोस्रो विश्वयुद्धताका विकास भएको पुरानो प्रणाली अपनाउन नाक खुम्च्याउँछन् ।’
हिउँदमा भैरहवाको मौसम खराब हुने हुनाले जहाजलाई पश्चिमतर्फबाट अवतरण गराउँदा न्यूनतम १८ सय र पूर्वबाट अवतरण गराउँदा २२ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । तर, भैरहवामा आईएलएस सञ्चालनमा आएपछि पाइलटहरूले पहिलो नम्बरको ‘क्याट–वान’ प्रणाली अपनाउनेछन् । यसो गर्दा जहाजलाई ८ सय मिटरसम्मको भिजिबिलिटीमा अवतरण गराउन सकिनेछ । नेपालबाहिरबाट आउने जहाज सिमराबाट भरतपुरको आकाश हुँदै भैरहवा पुग्ने हवाईमार्ग बनाइएको छ । सिमराबाट गौतम बुद्ध विमानस्थल २० देखि २४ मिनेटको दूरीमा छ । यो काठमाडौंको दाँजोमा करिब ७ मिनेट लामो हो ।
गौतम बुद्धको धावनमार्ग काठमाडौं विमानस्थलकै क्षमताको छ । प्राधिकरण मातहतको राष्ट्रिय गौरवका आयोजना प्रमुख बाबुराम पौडेलका अनुसार गौतम बुद्ध विमानस्थलको धावनमार्ग बोइङ ७७७ र एयरबस ए ३३० लाई थेग्न सक्ने गरी निर्माण गरिएको छ । उनका अनुसार काठमाडौंकै हाराहारी तीन किलोमिटर लम्बाइ भएको गौतम बुद्धको धावनमार्ग अलकत्राले बनाइएको हो । पोखराको नयाँ विमानस्थलमा भने कंक्रिट ढलान गरिएको छ । ‘पोखरामा धेरै पानी पर्ने भएकाले कंक्रिट पहिलो पटक प्रयोगमा ल्याएका हौं,’ पौडेलले भने, ‘अलकत्रालाई पानीले बिगार्छ । यसको आयु पनि २० वर्ष मात्रै हुन्छ भने कंक्रिटलाई पानीले बिगार्दैन, यसको आयु ५० वर्ष हुन्छ । यो महँगो प्रविधि हो ।’