निर्वाचन आयोगको निर्णयविरुद्ध मेयर शाहद्वारा सर्वोच्चमा रिट
  • विदुर न्युज

काठमाण्डौ ।
काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले निर्वाचन आयोगले तोकेको जरिबानाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको छ । आज मङ्गलवार मेयर शाहले सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दिनुभएको हो ।

गएको वैशाख ३० गते सम्पन्न पालिका चुनावको खर्च ढिलो गरी बुझाएको भन्दै आयोगले मेयर शाहलगायतलाई जरिबाना तोकेको थियो । आयोगको त्यो निर्णयविरुद्ध उहाँ सर्वोच्च अदालत पुग्नुभएको हो ।

आयोगले मेयर शाहलाई सात लाख ५० हजार रुपैयाँ जरिबाना तोकेको थियो । निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र चुनाव खर्चको विवरण पेस गर्नुपर्नेमा अन्तिम दिनमा सार्वजनिक बिदा परेकाले त्यसको भोलिपल्ट खर्च विवरण पेस गरेको उहाँले रिटमा दाबी गर्नुभएको छ ।

चुनावमा सात लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने भए पनि आफूले तीन लाख ९४ हजार चार सय ८९ रुपैयाँमात्र खर्च भएको विवरण आयोगमा बुझाएको मेयर शाहले बताउनुभएको छ ।

शाहले आफूले समयमै चुनाव खर्च विवरण बुझाउँदा पनि सात लाख ५० हजार रुपैयाँ जरिबाना तिर्न लगाउने, पालिका चुनावमा भाग लिने देशभरका एक लाख २३ हजार उम्मेदवारलाई एकमुस्ट जरिबाना गर्ने, छ महिनाभित्र नबुझाए छ वर्षसम्म कुनै चुनावमा भाग लिन नपाउने र निर्वाचित भए पदमुक्त हुने भनी आयोगले गरेको निर्णय बदर गर्न रिट निवेदनमा माग गर्नुभएको छ ।

  • १९ पुष २०७९, मंगलवार २१:०८ प्रकाशित
  • सम्बन्धित