आहा रारा गोल्डकप स् संकटासँग ३–१ ले आर्मी पराजित
  • विदुर न्युज

पर्वत ।
आहा रारा पोखरा गोल्डकपको ४ पटकको उपविजेता विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब यस पटक क्वार्टर फाइनलबाटै बाहिरिएको छ।

सहारा क्लब पोखराको आयोजनामा भइरहेको २२ औँ संस्करणको गोल्डकपमा सोमबार आर्मी र संकटा क्लबबीच खेल भएको थियो। पोखरा रङ्गशालामा भएको खेलमा संकटाले ३ गोल गर्दा आर्मीले त्यसको जवाफमा १ गोल मात्र फर्काउन सक्यो।

खेलमा पहिलो हाफको १५ औँ मिनेटमा आर्मीका लागि नवयुग श्रेष्ठले पेनाल्टीमार्फत बललाई जाली चुमाउन सफल रहे। शुरुवाती अग्रता लिएको भए पनि संकटाले त्यसलाई टिक्न दिएन।

संकटाका तर्फबाट खेलको ३५ औँ मिनेटमा विदेशी खेलाडी मेसुकीले गोल गरेपछि खेल बराबरीमा फर्कियो। उनले कप्तान सुनिल बमको पासलाई गोलमा परिणत गरेका हुन्। खेलको ७५ औँ मिनेटमा पुगेपछि खेल संकटाको पक्षमा आयो।

उनै विदेशी खेलाडी मेसुकीले प्रहार गरेको बल पोलमा लागेर फर्कियो। तर बललाई संकटाकै सुरजज्यु ठकुरीले आफ्नो नियन्त्रणमा लिँदै गोलमा परिणत गर्न सफल रहे। दोस्रो गोलसँगै संकटाले खेलमा अग्रता लियो।

९० मिनेटको निर्धारित समय सकिएपछि खेलमा अतिरिक्त ६ मिनेट थपिएको थियो। त्यही अतिरिक्त समयलाई पनि संकटाले उपयोग गरेर गोल थप्यो। थपिएको समयको तेस्रो मिनेटमा नै अर्का विदेशी खेलाडी बिनाङले १ गोल गरे। गोल्डकपका लागि बलियो दाबेदार मानिने गरेको आर्मीले यस पटक हारसँगै क्वार्टर फाइनलबाटै बाहिरिनु परेको छ।

संकटाले २०७७ सालमा भएको खेलको गोल्डकप आफ्नो पक्षमा पार्न सफल भएको थियो। त्यो वेला विदेशी पाहुना टोली अफ्रिकन रुट्स एसोसिएशनले उपविजेतामा चित्त बुझाउनु परेको थियो।

त्रिभुवन आर्मी फुटबल क्लब २०६५, २०६६, २०७२ र २०७५ सालमा भएका संस्करणमा उपविजेता भएको थियो।

सोमबारको खेलमा विभागीय टोली आर्मीलाई स्तब्ध पारेको संकटाले सेमिफाइनलमा भने फेरि अर्को विभागीय टोली एपिएफ क्लबको सामना गर्ने भएको छ। ​एपिएफले यसअघिको खेलमा धरान फुटबल क्लबलाई पराजित गरिसकेको छ।

प्रतियोगिताको अन्तिम सेमिफाइनल पुस २० गते मनाङ मर्स्याङ्दी र भुटानी युथ स्पोर्टसबीच हुँदै छ।

 

  • १८ पुष २०७९, सोमबार २०:१५ प्रकाशित
  • सम्बन्धित