सुदूरपश्चिममा ११ गते चियापानकै दिन सांसदको शपथ
  • विदुर न्युज

धनगढी ।

सुदूरपश्चिम प्रदेशको प्रदेशसभामा नवनिर्वाचित सांसदको स्वागत तथा चियापान पुस ११ गते गरिने भएको छ। सोही दिन स्वागत, चियापानका साथै सांसदहरूको शपथ ग्रहण पनि गराइने प्रदेशसभा सचिवालयले जनाएको छ।

सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार नवनिर्वाचित प्रदेशसभा सदस्यलाई ११ गते पद तथा गोपनीयताको शपथ गराउने तयारी भइरहेको हो। अछाम क्षेत्र २ को ९ख० बाट निर्वाचित ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुखबाट सोही दिन शपथ ग्रहण गर्नेछन्। त्यसपछि उनले नै अन्य ५२ जना प्रदेशसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउने सचिव बोगटीले बताए।

प्रदेशसभामा कांग्रेसबाट निर्वाचित रावल ६८ वर्षका छन्। यसअघि पनि कांग्रेसकी दिव्यश्वरी शाह ज्येष्ठ सदस्य थिइन्। ‘११ गतेका दिन नवनिर्वाचित माननीयज्युहरूको पद तथा गोपनीयताको शपथ ग्रहणपछि सचिवालय परिसरमै स्वागत तथा चियापान कार्यक्रम गर्ने पनि हाम्रो तयारी छ,’ सचिव बोगटीले भने।

निर्वाचन आयोगले पुस २ गते प्रदेशसभाको अन्तिम परिणाम प्रदेश प्रमुख देवराज जोशीलाई बुझाएको थियो। अन्तिम परिणाम बुझाएको २० दिनभित्र प्रदेश प्रमुखले प्रदेशसभाको बैठक बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ।

पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि बैठकको मिति तय गर्ने तयारी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। अन्तिम निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र प्रदेश प्रमुखको आह्वान बमोजिम नयाँ सरकार गठन गर्नुपर्ने व्यवस्था छ।

प्रदेशसभाको अधिवेशन आह्वान र नयाँ सरकार गठनका विषयमा सर्वदलीय बैठक बसाएर प्रदेश प्रमुखले मिति तय गर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

  • ६ पुष २०७९, बुधबार २१:४६ प्रकाशित
  • सम्बन्धित