धनगढी ।
भारतीय पक्षले महाकाली नदी किनारमा निर्माण गरेको बाँध नहटाएपछि दार्चुलामा सोमबार प्रदर्शन गरिएको छ।
भारतविरुद्ध नाराबाजी तथा विरोध प्रदर्शन गरिएको हो। नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र स्थानीयको सहभागितामा आज दिनभर भारतविरोधी प्रदर्शन गरिएको थियो।
जिल्लाका विभिन्न स्थानबाट ओइरिएका सयौँ कार्यकर्ता र स्थानीय भारतविरोधी नारा लगाउँदै निर्माणाधीन तटबन्ध क्षेत्रमै पुगेका थिए। उनीहरूले भारतले महाकाली नदीको धार नेपालतर्फ फर्काउने गरी एकतर्फी रुपमा निर्माण गरिरहेको तटबन्धको विरोध गरिरहेका हुन्।
भारतीय थानामा ७ जना नेपालीमाथि लगाएको झुट्ठा मुद्दा फिर्ताको मागस्वरुप पनि आफूहरू विरोधमा उत्रिएको उनीहरूले बताएका छन्।
केही दिनअघि महाकाली क्षेत्रमा भारतीयहरूले नेपालतर्फ ढुंगा प्रहार गर्दा ४ जना बालक घाइते भएका थिए। तर भारतीय पक्षले नेपालीहरूले ढुंगा प्रहार गर्दा कामदार घाइते भएको भन्दै ७ जनामाथि मुद्दा दर्ता गरेपछि स्थानीय आक्रोशित भएका छन्। भारतले सीमा क्षेत्रका नेपालीमाथि ज्यादती गरेको बताउँदै उक्त पार्टीका कार्यकर्ता लामो समयदेखि विरोध गरिरहेका छन्।
उनीहरूले भारतद्वारा अतिक्रमित दार्चुलाको नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ताको मागसमेत गरेका छन्। नेपाली प्रशासन भारतसामु निरीह भएको उनीहरूको आरोप छ।
प्रदर्शनपछि केही बेर दार्चुला सदरमुकाम क्षेत्रमा तनाव उत्पन्न भएको बताइएको छ। तर जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख तथा प्रहरी नायव उपरीक्षक तर्क पाण्डेयले भने सामान्य विरोध प्रदर्शन मात्र भएको दाबी गरे।