काठमाडौं ।
नेपाली काँग्रेसका महामन्त्री एवं झापा निर्वाचन क्षेत्र नम्बर १ बाट नव निर्वाचित सांसद विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नरहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सबैले चुनाव जितिसकेपछि मन्त्री बन्ने आकंक्षा राख्ने गरेपनि आफूमा मन्त्री बन्ने कुनै आकांक्षा नरहेको स्पष्ट पारे।
उनले पार्टीमा रहेर गर्नुपर्ने कामहरू धेरै रहेकाले मन्त्री बन्न अरूलाई सहयोग गर्ने बताए। उनले कुनै बेला एक्लै दुई तिहाइ ल्याएको काँग्रेस अहिले मिलेर चुनाव लड्दासमेत ५७ सिटमा सीमित भएको भन्दै चुनाव जित्ने बित्तिकै मन्त्री बन्न खुट्टा उचालिहाल्ने बेला नभएको बताए।
महामन्त्री शर्माले अहिले प्रधानमन्त्री को बन्ने भन्ने विषय भन्दा महत्वपूर्ण राष्ट्रपति को बन्ने भन्ने रहेको बताए। उनले अहिले बन्ने प्रधानमन्त्री दुई वर्षलाई मात्रै भएको भन्दै सरकार बन्ने, बनाउने भन्ने नाममा गठबन्धन बिथोलिन दिनु नहुने बताए।
उनले राष्ट्रपति भवनमा व्यक्ति नभइ प्रवृत्ति लिएर जाने भएकाले पनि तेस्रो राष्ट्रपति बन्दै गर्दा समुदायको हिसाबले पनि फरक प्रस्तुति हुन सक्नुपर्ने बताए। महामन्त्री शर्माले काँग्रेसले गठबन्धनका दलहरू र प्रतिपक्षले पनि सहजतापूर्वक लिन सक्ने राष्ट्रपति अहिलेको आवश्यकता भएको बताए।
‘अहिले प्रधानमन्त्री को बन्ने भन्ने विषय जति महत्वपूर्ण छ, त्यो भन्दा धेरै महत्वपूर्ण विषय राष्ट्रपतिको बारेमा छ । प्रधानमन्त्री को बन्नुहुन्छ रु दुई वर्षलाई बन्नुहोला । लुकाउने अवस्थै छैन । हामीले एक्लै विजयी हासिल गरेको होइन, सबै दल हामीसँग छन् । यो गठबन्धन जनताको बीचबाट जे मत लिएर आएको छ । यसलाई एउटा सरकार बन्ने, बनाउने भन्ने नाममा बिथोलिन दिनु हुँदैन। भत्किन दिनु हुँदैन।’ उनले भने।