नलगाड ३ को वडा कार्यालय अनिश्चितकालिन बन्द
  • विदुर न्युज

DCIM100MEDIADJI_0105.JPG

जाजरकोट । नलगाड नगरपालिका वडा नं ३ को वडा कार्यालय अनिश्चितकालका लागि बन्द भएको छ । वडाले एक पत्र मार्फत वडा कार्यालय अनिश्चितकालका लागि बन्द रहेको जानकारी गराएको छ । मंगलबार वडाले एक सूचना निकालेर वडा कार्यालय बन्दको जानकारी दिएको थियो ।

Open photo

पत्रमा उल्लेख भएअनुसार वडाका केही नागरिकहरुले आफ्नो असन्तुष्टि पोख्दै वडा कार्यालयमा ताला लगाएका थिए । भुकम्पमा डिडिए गरेका केही घरधुरीको नाम लिस्ट नआएपछि कार्यालयमा ताला लगाएको जनाइएको छ । वडाले ०८२ आषाढ १९ गते डिडिए सर्वेक्षण लिस्ट प्रकाशित गरेको थियो । प्रकाशित लिस्टमा केही लाभग्राहीहरुको नाम परेको थिएन । लिस्टमा नाम नपरेपछि ताला लगाइको लाभग्राही आनन्द वलीले बताए ।

वडाका ६ सय ५४ जनाको घरधुरीमा डिडिए सर्वेक्षण भएको थियो । जस मध्ये ४ सय ७५ जनाको नाम प्रकाशित भएको थियो । जसमा ४ सय ४० जनाको पुनर्निर्माण र अन्य ३५ जनाको सामान्य प्रवलिकरणमा परेको छ । वडाले पुनर्निर्माण तथा प्रवलिकरणमा परेका लाभग्राहीहरुसंग सम्झौता गरेर काम अगाडी बढाउदै गरेको अवस्थामा लाभग्राहीमा नाम नपरेकाहरुले वडामा ताला लगाएको वडा सचिव उत्तम चन्दले बताए ।

वडामा ताला लागेसंगै वडाबाट सञ्चालन हुने नियमित प्रशासनिक तथा अन्य सेवाहरु अबरुद्ध भएका छन् । वडामा लागेको ताला आन्दोलनकर्ताले कहिले खोल्छन् भन्ने टुङ्गो छैन । वडाले डिडिए गरेका सबै लाभग्राहीहरुको स्पष्ट छानविन नगरेसम्म ताला नखोल्ने आन्दोलनरत वडावासी प्रेम थापाले बताए । शक्तिमा भएका केही व्यक्तिहरुले आफन्तलाई मनोमानी तरिकाले लाभग्राही कायम गरेको आरोप छ । यसको स्पष्ट छानविन गर्न ताला लगाउनेहरुले माग गरेका छन् ।

ताला खोल्न उनीहरुसंग छलफल भइरहेको वडा सचिव चन्दले बताए ।

  • २४ असार २०८२, मंगलवार १८:४७ प्रकाशित
  • सम्बन्धित