जाजरकोट ।
लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथामका लागि खेलकुद कार्यक्रम अन्तर्गत जाजरकोट जिल्लामा सुरु भएको सहिद विदुर स्मृति यू १९ भलिबल कप सम्पन्न भएको छ । चैत्र २४ गते देखि जिल्लाको त्रिभुवन मा वि थाप्लेमा सुरु भएको भलिबल खेल चार दिन सञ्चालन भएको थियो । सहिद कर्ण बहादुर वि क(विदुर) को स्मृतिमा सञ्चालन हुने यस प्रतियोगिता यस वर्ष पनि सञ्चालन गरिएको हो । खेलमा १९ वर्ष मुनिका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउथे । उक्त कार्यक्रम सहिद स्मृति युवा क्लवको आयोजनामा र भेरी नगरपालिकाको मुख्य प्रायोजन,ज्योति विकास बैंकको सह प्रायोजनमा र अन्यको सहयोगमा सञ्चालन भएको हो ।
भेरी नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन भएको कार्यक्रमले मुख्य गरी खेलाडी उत्पादन गर्नुका साथै लागुऔषध दुव्र्यसन रोकथाम तथा नियन्त्रणको मुद्धा अगाडी सारेको छ । पछिल्लो समय युवा पुस्ता लागुऔषध दुव्र्यसनीको कुलतमा जानी नजानी फसेको अवस्था छ । चेतनाको कमि,शिक्षाको अभाव बेरोजगारको चपेटाका कारण पनि युवा कुलतमा फसेको अवस्था छ । यस्तो अवस्थाबाट युवाहरुलाई उकास्नको लागि खेलकुदको माध्यमबाट चेतना फैलाउन यो प्रतियोगिता सुरु गरिएको क्लबका अध्यक्ष प्रेम बहादुर वि क ले बताए । अध्यक्ष विकका अनुसार क्लबले चालेको यो अभियान केही हदसम्म सफल भएको छ ।
जिल्लामा खेलाडी उत्पादन गर्न यो प्रतियोगिताले महत्वपूर्ण भुमिका निर्वाह गरेको अध्यक्ष वि क ले बताए ।
प्रतियोगितामा भेरी नगरपालिकाबाट ७,नलगाडबाट ३ र छेडागाडबाट १ गरी ११ टिम सहभागिता भएका थिए । जस मध्य प्रथम स्थान भेरी नगरपालिका वडा नं १ को टिम वाइ.ए.पि ले हासिल गरेको थियो । त्यस्तै दृतिय र तृतिय स्थान क्रमश नलगाड ७ को बगरभिल्ला होटेलको टिम र भेरी नगरपालिका वडा नं २ को टिमले हासिल गरेको थियो । साथै प्रथम,दृतिय र तृतिय स्थान हासिल गर्ने क्रमश ५० हजार,३५ हजार र २५ हजार प्राप्त गरेका थिए ।
त्यस्तै प्रतियोगितामा भेरी नगरपालिका वडा नं २ का हरिस शाही उत्कृष्ट खेलाडी घोषित भएका थिए । उत्कृष्ट डिफेन्डरमा भेरी १ का सन्दिप वि क भएका थिए । उत्कृष्ट कोचमा वाइ.ए.पि का अशोक सिंह,उत्कृष्ट ब्लकर बगर भिल्लाका कमल परियार,उत्कृष्ट सेटर बगर भिल्लाकै दिपक शाही र उत्कृष्ट स्पाइकरमा वाइ.ए.पिका बिमल वि क भएका थिए । साथै उदयमान खेलाडीको रुपमा वाइ.ए.पि कै खडक राना भएको रेफ्रि संयोजक बिवश बिक्रम शाहले बताए । शाहका अनुसार कपको दोस्रो संकरण पनि सफलता पुर्वक सम्पन्न भएको बताए ।
प्रतियोगिता सफल पार्न रेफ्रि संयोजक बिवश बिक्रम शाह,मनोज शाह,निरज राना,भक्त शाह र प्रनिल चन्दको महत्वपूर्ण रहेकोले क्लबका अध्यक्ष वि कले रेफ्र टिमलाई धन्यवाद व्यक्त गरे ।
सहिद विदुर स्मृति पुरस्कारबाट सम्मानित
जाजरकोटमा लामो समयदेखि व्यवसाय गरेका,राजनितिक क्षेत्रमा प्रभाव जमाएका ,शिक्षा, स्वास्थ्य, खेलकुद लगायत अन्य क्षेत्रमा योगदान पु¥याएका ४० वर्ष मुनिका पत्रकार,कुषक,व्यवसायी र समाजसेवी लगायतका प्रभावशाली व्यक्तिहरुलाई यो सम्मान प्रदान गरिन्छ । युवाहरुलाई प्रोत्सहान गर्न र अन्य युवाहरुलाई प्रेरणा प्रदान गर्न यो पुरस्कार प्रदान गर्न सुरु गरिएको सहिद स्मृति युवा क्लवका अध्यक्ष वि क ले जनाए ।
यस वर्ष पनि ५ जनालाई यस पुरस्कारबाट सम्मान गरिएको छ । जस मध्य जनप्रतिनिधिको क्षेत्रबाट भेरी नगरपालिकाकी उप प्रमुख सिता जैसी, पत्रकार जुनिचादे ४ का रेशम खड्का,युवा व्यवसायी भेरी नगरपालिका ४ का भिम बहादुर कार्की,युवा व्यवसायी कुशे गाउपालिका ४ का खिम बहादुर सिंह र कृषक नलगाड नगरपालिका १० का मोतिराम रावतलाई सम्मान गरिएको हो ।
सम्बन्धित पेसामा उनीहरुले गरेको योगदानको कदर गर्दै यो पुरस्कारबाट सम्मान गरिएको अध्यक्ष वि क ले बताएका छन् ।
समापन कार्यक्रममा जिल्ला समन्वय समिति जाजरकोटका उप प्रमुख दल बहादुर सिंह लगायत अन्य सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सिकाइ सहित आउदा संस्करणमा यो प्रतियोगितालाई भव्य बनाउन थप परिमार्जित गरेर आउने बताइएको छ ।