आत्महत्या के हो ?
सामान्य अर्थमा कुनै पनि व्यक्तिले जानी जानी आफ्नो जीवन आफैले समाप्त पार्ने कार्यलाई आत्महत्या भन्ने बुझिन्छ । नेपाली विकिपिडियाका अनुसार ’आत्म+हत्या’ मिलेर बनेको शब्द हो,आत्मको अर्थ स्वयम,अर्थात आफै र हत्याको अर्थ खतम समाप्त हो । यसरी आफै समाप्त हुनुलाई आत्महत्या भनिन्छ । यसमा व्यक्ति स्वंयम समाप्त हुन्छ ।
संसार भरी कतै न कतै हरेक ४० सेकेन्डमा कुनै एक व्यक्तिले आत्महत्या गर्ने गर्छन । झण्डै आठ लाख मानिसले हरेक वर्ष आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य संगठन,ध्ज्इले जनाएको छ । विश्वमा आत्महत्या जोखिममा नेपाल सातौ स्थानमा छ भने महिलामा तेस्रो स्थानमा छ । आत्महत्या विश्वव्यापी घटना भएपनि ७८% घटना विकासोन्मुख देशहरुमा हुने गरेको तथ्याङ्क छ । विश्वमा आत्महत्याका माध्यमहरु मध्ये विष सेवन,झुण्डिएर तथा शरिरमा आगो लगाएर गर्ने आत्महत्या प्रमुख रहेको ध्ज्इको तथ्याङ्कमा उल्लेख छ ।
आत्महत्या गर्नु भन्दा पहिले कस्ता लक्षणहरु देखिन्छन् ?
कसैले पनि एकैपटक आत्महत्या गर्ने होईन । आत्महत्या गर्नु अघि विभिन्न किसिमका क्रियाकलाप पनि गरेका हुन्छन् ।अर्थात आत्महत्या गर्नु भन्दा पहिले विभिन्न खालका संकेतहरु देखाउछन ।हात काट्ने , विष सेवन गर्न खोज्ने,टोलाएर बस्ने ,साथी भाईको संगत कम गर्दै जाने , रिसाउने झिझटो मान्ने हुन्छ । यस्ता क्रियाकलापको साथ–साथै आत्महत्याको प्रयास गरिरहने,मर्ने ईच्छा व्यक्त गर्ने,मृत्यु बारे सोचिरहने,आत्महत्या बारे कुरा गर्ने ,मर्ने योजना बनाउने तथा मर्ने उपायहरु खोज्ने , आफु पृथ्वीको भार तथा बोझ भएको बताउने , आफु बाच्नुको अर्थ नरहेको बताउने , आफु बेकार÷असहाय,निराश भएको बताउने, म नजन्मेको भए ठिक हुन्थ्यो भन्ने, म मर्छु मरेपछी मलामी आउनु भन्ने ,सबै लेनदेनको हिसाब बताउने , मृत्युबारे कुनै न कुनै तरिकाबाट बताईरहने तथा एकान्तमा झोक्राएर बस्ने,निराशाजनक कुरा गर्ने जस्ता लक्षण देखाउने गर्दछन । यदि यस्ता खालका व्यवहार र क्रियाकलाप गरे भनेबेलैमा परिवार ,आफन्त र साथि संगतिहरुले अलि बढी सजक हुनु पर्छ ।
हाम्रो समाजमा गाली गरेर जबरजस्ती समस्या समाधान गर्न खोजिन्छ । त्यो राम्रो होईन । पढाईको धेरै ’प्रेसर’ भयो भने , पढाईमा आमाबुवाको आशा अनुसारको सफलता प्राप्त नगरेको खण्डमा पनि आत्महत्या गरेको पाईन्छ । एउटा मिल्ने साथिले आत्महत्या गरेको खण्डमा अर्को साथिले पनि केही दिन भित्र आत्म हत्या गरेको घटना पनि हामिले देखेका छौ । अहिले स्मार्ट फोन तथा ईन्टरनेटको अत्याधिक प्रयोगले गर्दा फेसबुक लगाएतका सामाजिक संजालमा लाईभ गरेर आत्महत्या गरेको पनि विगत वर्षका केही उदाहरणहरु छन् । अहिले सानै उमेरमा ’ लव अफयर ’ अनि ब्रेक अप भएर फिल्मी शेलीको व्यवहारले गर्दा पनि धेरै आत्महत्याको समस्या बढेको छ । हालै काठमाण्डौमा बस्ने प्रेम प्रसाद आचार्यले आफ्ना आर्थिक,सामाजिक लगाएतका समस्याका कारण डिप्रेसनमा गई बिच सडकमै शरीरमा आगो लगाई आत्महत्या गरेको भिडियो सबैतिर भाईरल भएको छ । शारीरिक तथा मानसिक रोगहरु,झैझगडा,मायामा बिछोड,सम्बन्ध बिग्रनु,नकरात्मक प्रतिफल,धुम्रपान,मध्यपान,लागु पदार्थको अत्याधिक सेवन,हिंसा अपमान र हेलामा पर्नु,गरिबी विपन्नता र बेरोजगारी साथै व्यवहारिक तनाव तथा सामाजिक परिवेशका कारणले मानिसहरु आत्महत्या गर्ने सोचमा पुग्दछन भने विवाहित महिलाले घरेलु हिंसा सहन नसकेर आत्महत्या गर्ने गरेको उदाहरण धेरै छन् ।
कर्णाली प्रदेशमा यसको अवस्था
नेपालमा आत्महत्याको अवस्थाबारे चर्चा गर्दा देशभरबाट आर्थिक वर्ष २०७७÷०७८ मा ७११७ , २०७८÷०७९ मा ६७९२ व्यक्तिले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्याङ्क छ । कर्णाली प्रदेशको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा ३२६ , आर्थिक वर्ष २०७८÷०७९ मा २८८ व्यक्तिले आत्महत्या गरेको तथ्याङ्कले बताउछ । आर्थिक वर्ष २०७८÷०७९ मा कर्णाली प्रदेशका जिल्लाहरु मध्ये सबैभन्दा बढी आत्महत्या गरी मर्ने संख्या सुर्खेत जिल्लामा छ जसमा १०१ जना रहेको छ भने सबैभन्दा कम संख्या हुम्लामा देखिएको छ जसमा १ जना मात्र रहेको छ ।कर्णाली प्रदेशमा आत्महत्या गरी मर्ने मान्छेहरुको संख्याको आधारमा दोस्रो स्थानमा दैलेख( ५६ जना) तेस्रो स्थानमा सल्यान(५३ जना) चौथो स्थानमा रुकुम (२६ जना) र पाचौ स्थानमा जाजरकोट र कालिकोट (१७ जना) रहेका छन । त्यसै गरी सोही आर्थिक वर्षमा मुगुमा ८ जना जुम्लामा ७ जना र डोल्पामा २ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७८÷०७९ को तथ्याङ्कलाई विश्लेषण गर्दा आत्महत्या गरी जम्मा २८८ जनाले ज्यान गुमाए । सबैभन्दा बढी झुण्डिएर २२८ जना, विष सेवन गरेर ५५ जना, हामफाली ३ जना साथैविभिन्न औजारहरु प्रयोग गरी र आगो लगाएर आत्महत्या गर्ने १÷१ जना रहेको छ । आत्महत्या गर्नेमा पुरुषहरुको संख्या १६० ,महिलाको संख्या ९५ जना यसै गरी बालक ११ जना र बालिका २२ जना रहेका छन । जसअनुसार आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुषको संख्या बढी देखिन्छ । आत्महत्याको तथ्याङ्कलाई हेर्दा सबैभन्दा बढी १९–३० वर्ष उमेर समुहका व्यक्तिहरुले आत्महत्या गरेको देखियो जस्को संख्या १२१ जना रहेको छ । त्यसै गरी १८ वर्ष मुनिका ३४ जना र ६० वर्ष भन्दा माथि उमेर समुहका आत्महत्या गर्ने व्यक्ति१४ जना रहेका छन । यसरी कर्णाली प्रदेशको आत्महत्या सम्बन्धि आ.ब.२०७८÷०७९ को तथ्याङ्कलाई विश्लेषण गर्दा शहरी ईलाकाको तुलनामा ग्रामिण ईलाकामा आत्महत्याको अनुपात बढी देखियो भने अविवाहित व्यक्तिहरुको तुलनामा विवाहित व्यक्तिहरुको अनुपात बढी देखिएको छ । यसरी आत्महत्याका घटनाहरु प्रत्येक वर्ष बढ्दै गएमा आत्महत्या समाजको विकराल समस्याको रुपमा खडा हुने देखिन्छ । यसको पुर्ण नियन्त्रणका लागी सम्बन्धित निकायहरुले समयमै ध्यान पुर्या्उन जरुरी देखिन्छ ।
यसमा सरोकारवाला निकायको सुक्ष्म अध्यनको कमिका कारण आत्महत्याकोय किन कारण पत्ता लगाउन नसकिए पनि डिप्रेसन कै कारणले आत्महत्या हुने गरेको छ । डिप्रेसनमा जानुका कारण भने आर्थिक,आवेशमा आएर,सामाजिक संजालको गलत प्रयोग,लागु औषधको अत्याधिक प्रयोग,प्रेममा धोका,अवैध यौन सम्बन्ध,कार्यस्थलमा गरिने अपमान तथा हिंसा,शिक्षा र रोजगारीको अभाव,बालबच्चा हुर्काउन नसक्ने तथा घरेलु हिंसा सहन नसक्ने आदि हुन जसले मानसिक समस्या उत्पन्न हुने र त्यस्ता मानिसहरुले आत्महत्या रोज्ने गरेको देखिन्छ ।
आत्महत्या न्यूनिकरण गर्न
आत्महत्या न्यूनिकरण गर्न हामी सरोकारवाला निकायहरुले समाजमा हुने सामाजिक र आर्थिक विभेद अन्त्य गर्दै विभिन्न अवसरहरुको सिर्जना गरी मानसिक समस्याको उपचारको खोजी गर्दै जनचेतनामुलक कार्यक्रम बढाउनुपर्छ, स्कूल, कलेजमा मनोपरामर्श गर्ने विज्ञ समन्वयकर्ता राख्नुपर्छ, विद्यालय तथा क्लेजमा स्थानीय सरकार तथा स्थानीय प्रहरीले आत्महत्या न्यूनिकरण सम्बन्धि जनचेतनामुलकअडियो, भिडियोजस्ता कार्यक्रमहरू संचालन गर्नु आवश्यक छ, विभिन्न संचारका माध्यमबाट जनचेतनामुलक सन्देशहरू प्रसारण गर्नुपर्छ । रोजगारी लगाएतका अवसर सिर्जना गर्ने जस्ता कार्यक्रम राज्यले ल्याउँनुपर्ने हुन्छ । धेरैजसो व्यक्तिले आत्महत्या योजनाबद्ध रुपमा गर्ने हुनाले नजिकका आफन्तले ख्याल गर्नु पर्ने देखिन्छ ।
घरका परिवारले, आफ्ना छोरा–छोरीले सामाजिक संजालमा के चलाउँदैछन साथी संगतीहरू के कस्ता छन सो कुरामा बाबु आमाले ध्यान पुर्यावउनुपर्छ । यसको नियन्त्रण गर्नको लागि सरोकारवाला निकायले त्यती धेरै चासो देखाएको छैन समयमा सरोकारवाला निकाएको ध्यान जानु पर्ने देखिन्छ । प्रहरी वा कुनै एउटा निकायको प्रयासले मात्र यसको नियन्त्रण सम्भब हुदैन यसमा व्यक्ति,समाज, स्थानीय सरकार, प्रहरी, संचारकर्मी र यसमा आबद्ध विभिन्न संघ संस्थाको सामुहिक प्रयासले मात्र संम्भव छ । नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतस्थानीय सरकारसँग मिलेर प्रत्येक नागरीकको घर–घरमा गएर आत्महत्या न्यूनिकरण सम्बन्धी चेतनामूलक कार्यक्रम गर्दै आएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा कर्णाली प्रदेशका १० वटै जिल्लामा गरी आत्महत्या न्यूनिकरण सम्बन्धि ९३ वटा कार्यक्रमहरु सम्पन्न गरिएको थियो । जसमा ३८ वटा कार्यक्रम जिल्ला प्रहरी कार्यालय सल्यानले सम्पन्न गरेको थियो भने,दैलेखले २१ वटा,कालिकोटले १३ वटा,जुम्ला र मुगुले ५÷५ वटा ,सुर्खेतले ४ वटा,डोल्पाले ३ वटा र जाजरकोट र रुकुम पश्चिमले २÷२ वटा कार्यक्रमहरु गरेको थियो । उक्त कार्यक्रमहरुमा महिला,पुरुष,बालबालीका तथा जेष्ठ नागरीक सम्मका व्यक्तिहरुलाई सहभागी गराईएको थियो । अतः हामि सबैले हातमा हात काँधमा काँध मिलाएर अगाडी बढेमा आत्महत्या जस्तो डर लाग्दो अपराधलाई शून्यमा झार्न सक्छौ ।
सन्तोष रोका
प्रहरी नायव उपरीक्षक
जिल्ला प्रहरी कार्यालय जाजरकोट