काङ्ग्रेस नेता खाँणलाई निलम्बन गर्नुपर्ने मागसहित नेविसंघको प्रदर्शन
  • विदुर न्युज

काठमाडौं ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएका आफ्नै माउ पार्टी कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नेपाली कांग्रेसबाट निलम्बन गर्न माग गर्दै नेविसंघका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् ।

काठमाडौंको त्रिचन्द्र क्याम्पसका नेविसंघका कार्यकर्ताहरुले अहिलेसम्म भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणलाई पार्टीबाट निलम्बन नगरेको भन्दै पार्टीलाई निर्णय लिन दवाव दिने उद्देश्यसहित प्रतिकात्मक प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

नाता र नेता नहेरी भ्रष्टाचारीलाई कठघरामा उभ्याउन माग गरेका उनीहरुले नेविसंघको झण्डासहित प्रतिकात्मक रुपमा कागजको हत्कडी र कैदीबन्दीले लगाउने पोशाकसहित प्रदर्शन गरेका हुन् ।

नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग रकम लेनदेन गरेको आरोपमा प्रहरीले कांग्रेस केन्द्रीय सदस्य खाँणलाई हिरासतमा राखेर अनुसन्धान जारी गरेको छ ।

टोपबहादुरका छोरा सन्दीपसहित गृहमन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत भने हिरासतमै छन् ।

  • ३१ बैशाख २०८०, आईतवार ११:४८ प्रकाशित
  • सम्बन्धित