काठमाडौं :
तनहुँ क्षेत्र-१‚ चितवन क्षेत्र-२ र बारा क्षेत्र-२ मा जारी मतगणनामा दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो मतले अग्रता बनाएको छ।
चितवन क्षेत्र-२ मा सम्पन्न उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २ हजार मतको अग्रता लिएका छन्। प्राप्त पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ४ हजार ३५८ मत प्राप्त गरेका छन्।
दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले २ हजार ५४४ र तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले २ हजार २०५ मत प्राप्त गरेका छन्।
हालसम्म इच्छाकामना गाउँपालिकाको सबै मत गनिसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ। चितवनका करिब १२ हजार मत गणना सकिएको छ। गनिसकेको मतको परिणाम भने सार्वजनिक हुन अझै केही समय लाग्ने जनाइएको छ।
तनहुँ
तनहुँ क्षेत्र-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई १० हजार मतले पछि पारेका छन्। उनको जित लगभग निश्चित देखिएको छ।
वाग्लेले २२ हजार ८२ मत प्राप्त गरेका छन् भने कांग्रेसका भट्टराईले १२ हजार ६४२ मत पाएका छन्। तेस्रो स्थानमा रहेका एमालेका सर्वेन्द्र खनालले ६ हजार ४५८ मत पाएका छन्।
बारा
बारा क्षेत्र-२ मा जसपाका उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहबीच कडा टक्कर परेको छ। मतगणना जारी रहँदा फेरि जसपाका उपेन्द्र यादवले अग्रता लिएका छन्।
पछिल्लो अपडेटअनुसार (जसपा) का यादवले १ हजार ८७२ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहले १ हजार ६६१ मत पाएका छन्। एमालेका पुरुषोत्तम पौडेलले ७२९ र रास्वपाका रमेश खरेलले २६९ मत पाएका छन्।