जाजरकोट । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोटले विद्यालयमा अनुगमन गरेको छ । संघले शुक्रबार भेरी नगरपालिका वडा नं ६ मा रहेको श्री भगवती आधारभूत विद्यालयमा अनुगमन गरेको हो । संघले जाजरकोटमा सेभ चिल्ड्रेनको सहयोगमा १ सय २० जना दलित बालबालिकालाई छात्रवृति उपलब्ध गराएर पढाइरहेको छ । त्यस विद्यालयबाट पनि ४ जना विद्यार्थीहरुले छात्रवृति पाएर पढिरहेका छन् । उनीहरुको शैक्षिक अवस्था र समग्र विद्यालयको अवस्थाको बारेमा अवलोकन गर्न संघको टिम विद्यालयमा पुगेको थियो ।
शुक्रबार जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर खत्री, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका केन्द्रिय उपाध्यक्ष जोगेन्द्र वि क,वडा नं ६ का वडा अध्यक्ष शसीराम वुढा,संघका केन्द्रिय कार्यक्रम व्यवस्थापक चित्र वि क,संघको जिल्ला अध्यक्ष रती नेपाली,वडा सदस्य,पत्रकार लगायतको टिम विद्यालय अनुगमनको लागि गएको थियो ।
अनुगमनको लागि गएको टिमले विद्यालयको शैक्षिक अवस्था,विद्यार्थीको सङ्ख्या,शैक्षिक भवन र दलित बालबालिकाको शैक्षिक अवस्थाको बारेमा बुझेको थियो । वडा अध्यक्ष वुढाले विद्यालयमा शैक्षिक भवन र घेराबारको समस्या रहेको जिल्ला समन्वय प्रमुख खत्रीलाई जानकार गराएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ललित गाइनले विद्यालयमा शैक्षिक सुधार गर्न बेलाबेला अनुगमन गर्न आवश्यक रहेको बताए । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोटले विद्यालयका अति विपन्न परिवारका दलित विद्यार्थीलाई छात्रवृति प्रदान गरेर ठूलो राहत पुगेको अभिभावकले बताए ।
अनुगमनका लागि गएका समन्वय प्रमुख खत्रीले यस संस्थाको छात्रवृति कार्यक्रमले कमजोर आर्थिक अवस्था भएका दलित विद्यार्थीलाई नियमित विद्यालयको पहुँचमा पुग्न सहयोग गरेको बताए । यसको प्रभावकारिता बढिरहेकोले जिल्लामा छात्रवृतिका लागि थप विद्यार्थी सङ्ख्या जोड्न सके राम्रो हुने बताए । छात्रवृति प्राप्त गरेका विद्यार्थी र तिनका अभिभावकलाई छात्रवृतिको मर्म बुझि पढेर समाजमा उदाहरणीय बन्न प्रमुख खत्रीले सुझाव दिएका थिए ।





















