लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज अन्तिम दिन, जाजरकोटमा यसरी मनाइयो
  • विदुर न्युज

जाजरकोट । जाजरकोटमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज अन्तिम दिन भव्य रुपमा सम्पन्न भएको छ । सदरमुकाम खलंगामा भव्य कार्यक्रम गरेर अभियान मनाइएको हो । २५ नोभेम्बर अर्थात ९ मंसिर देखि सुरु भएको यस अभियान १० डिसेम्बर अर्थात मंसिर २४ सम्म चलेको थियो । लैङ्गिक हिंसा विरुद्धको अभियानका रुपमा नेपालसंगै विश्वभरी सोही मितिमा विभिन्न कार्यक्रम गरी मनाइन्छ ।

जाजरकोटमा पनि भव्य रुपमा यो अभियानलाई मनाइएको छ । बुधबार खलंगाको गैरीखालीमा लैङ्गिक हिंसा विरुद्ध न्यूनिकरण सम्बन्धी लोक नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो । कार्यक्रममा ९ टिमले सहभागिता जनाएका थिए । जसमा भेरी नगरपालिका ३ स्यालाकी अनुसा वि क को टिम प्रथम भएको थियो । त्यस्तै भेरी नगरपालिका १ को देवी खत्रीको टिम दृतिय र माउन्ट इन्जिनियरिङ कलेज तृतिय भएको थियो ।

त्यस्तै अभियानका क्रममा सञ्चालन भएका अन्य प्रतियोगिताहरुको पुरस्कार पनि आज नै वितरण गरिएको थियो । लैङ्गिक हिंसा रोक्न महत्वपूर्ण भूमिका खेलेका दुइ जनालाई नगरपालिकाले सम्मान गरेको थियो । भेरी नगरपालिका ४ की महिला अधिकार मञ्चमा काम गर्ने सरस्वती शर्मालाई लामो समय स्वयमसेवी रुपमा काम गरेको उच्च मुल्याङ्कन गरी सम्मान गरेको थियो । त्यस्तै अस्पतालमा आधारित एकद्धार संकट व्यवस्थापन केन्द्रलाई पनि लैङ्गिक हिंसा रोक्न खेलेको महत्वपूर्ण भूमिकाको कदर गर्दै सम्मान गरेको थियो ।

त्यस्तै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सफल पार्न महत्वपूर्ण भूमिका खेल्ने कार्यालय र संस्थालाई पनि पालिकाले सम्मान पत्र प्रदान गरेको थियो ।
भेरी नगरपालिकाको आयोजनमा सञ्चालन भएको यस कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख दल बहादुर सिंह,प्रमुख जिल्ला अधिकारी राजु पौडेल,जाजरकोट जिल्ला प्रहरी प्रमुख,सामाजिक विकास कार्यालयका प्रतिनिधि,विभिन्न संघ संस्था र महिलाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै अथितिहरुले जिल्लामा लैङ्गिक हिंसा दैनिक रुपमा बढिरहेका कारण यसको रोकथामका लागि सबैले भूमिका खेल्नुपर्ने धारणा राखेको थिए । पालिकाले पनि यसका लागि प्रभावकारी रणनीति निर्माण गर्नु पर्ने आवाज आएको थियो ।

  • २५ मंसिर २०८२, बुधबार २२:२९ प्रकाशित
  • सम्बन्धित