जाजरकोटमा ब्लड बैंक स्थापना गर्न सर्वपक्षिय बैठक सम्पन्न
  • विदुर न्युज

जाजरकोट । जाजरकोटमा ब्लड बैंक स्थापना गर्न सर्वपक्षिय बैठक सम्पन्न भएको छ । शनिबार जिल्ला स्थित रम्बा होटेलमा कार्यक्रम सम्पन्न भएको हो । नेपाल स्वयंसेवी रक्तदाता समाज जाजरकोटको आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रममा जिल्लाका ४ स्थानीय तहका जनप्रतिनिधि,कर्मचारी,संघसंस्थाका प्रतिनिधि,नागरिक समाजका प्रतिनिधि,प्रहरी,राजनितिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

यतिबेला जाजरकोटमा नेपाल स्वयंसेवी रक्तदाता समाज जाजरकोटले ब्लड बैंक स्थापना अभियान चलाइरहेको छ । जिल्लामा सामान्य बिरामीहरु पनि समयमै रगत नपाउने भएपछि जिल्लाभन्दा बाहिर उपचार गर्न जान पर्ने बाध्यता छ । कतिले रगत अभावकै कारण ज्यान सम्म गुमाउनु परेको अवस्था छ । रक्त संचार प्रणाली नभएकै कारण पनि जिल्ला अस्पतालमा धेरै सेवाहरु सञ्चालन गर्न नसकिएको डाक्टरहरु बताउछन् । कसैले पनि रगत अभावकै कारण ज्यान गुमाउन नपरोस भनेर रक्तदाता समाज जाजरकोटले ब्लड बैंक स्थापना अभियान चलाएको हो ।
यो अभियानलाई निरन्तरता दिन जिल्लामा सरोकारवालाहरु बिच सर्वपक्षिय बैठक सञ्चालन गरिएको रक्तदाता समाज जाजरकोटका अध्यक्ष प्रेम ओलीले बताए । जिल्लाका लागि ब्लड बैंक आवश्यक रहेका कारण सरोकारवालाहरुलाई जानकारी गराउन यो बैठक सञ्चालन गरिएको बताइएको छ ।
उक्त बैठकमा संस्थाका सचिव प्रेम विश्वकर्माले जिल्लामा ब्लड बैंकको आवश्यकता,अवसर र चुनौतीका विषय प्रस्तुत गरेका थिए । त्यस पछि कार्यक्रममा छलफल अगाडी बढाइएको थियो ।
छलफलमा बोल्दै विभिन्न व्यक्तिहरुले जाजरकोट जिल्लामा ब्लड बैंकको अति आवश्यक रहेको बताए । तत्काल स्थापना गर्नको लागि अभियानलाई समर्थन गर्ने पनि प्रतिबद्धता जनाए ।

त्यस्तै कार्यक्रममा सहभागि ४ स्थानीय तह बारेकोट,कुशे र शिवालय गाउपालिका र छेडागाड नगरपालिकाका प्रतिनिधिले यस अभियान सफल पार्न पालिकाले पूर्ण रुपमा समर्थन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
ब्लड बैंक स्थापना गर्न थालिएको अभियानलाई सफल पार्न जिल्लाका व्यब्तिहरु जोडिनुभएको छ । हालसम्म यस अभियानका लागि १ लाख २४ हजार ९८ रुपैया संकलन भइसको छ भने सहयोगीदाता जोडिने क्रम जारि नै छ ।

जीवन बचाउने यस अभियानमा जोडिन नेपाल स्वयंसेवी रक्तदाता समाज जाजरकोटले जिल्लावासी सबैमा अनुरोध समेत गरेको छ ।

  • ४ श्रावण २०८२, शनिबार २१:०६ प्रकाशित
  • सम्बन्धित