जाजरकोट । कुशे गाउपालिका ५ दम्दलामा रहेको श्री पशुपति माध्यमिक विद्यालयमा बाढी आएर पठनपाठनमा असर पारेको छ । गए राति आएको अविरल वर्षाका कारण विद्यालयको पर्खाल भत्किए पछि विद्यालयमा बाढी आएको हो । विद्यालयका छ वटा कक्षा कोठामा बाढी छिरेको छ । विद्यालय कक्षा १० सम्म सञ्चालनमा रहेको छ ।
यति बेला कुशे ५ मा सडक कालोपत्रे भइरहेको छ । सडक विस्तारका क्रममा नाली निर्माण गर्नुपर्ने हो तर त्यहा बनाइएको छैन । व्यवस्थित नाली निर्माण नहुदा पानी सबै विद्यालय तिर आएको थियो । विद्यालयको पर्खाल कमजोर हुदा भत्किएर पानी सबै विद्यालयमा आएको हो । विद्यालयको करिव ५० मिटर जति पर्खाल भत्किएको अनुमान गरिएको छ ।
सडक विस्तारका क्रममा ठेकेदार शन्जु बुढाथोकीले विद्यालयको पर्खाल निर्माण गरिदिने बाचा गरेका थिए । “विद्यालयको पर्खाल बनाइदिने भनेको बर्षौ भइसक्यो तर हालसम्म पनि बनाइदिएका छैनन्”, विद्यालयका एक शिक्षकले बताए । ठेकेदार बुढाथोकीले समयमै विद्यालयको पर्खाल नबनाइदिदा विद्यालयले क्षति बेहोर्नु परेको विद्यालय परिवारको आरोप छ ।
विद्यालयमा आएको बाढीका कारण निर्मानाधिन भवन पनि जोखिममा रहेको छ । निर्माण प्रक्रियामा रहेको भवनको नजिकको पर्खाल सबै भत्किएको छ । पर्खाल भत्किदा निर्माण अवस्थामा रहेको भवन नै उच्च जोखिममा छ । त्यस्तै विद्यालयका कोठा भित्रै बाढी गएका कारण पठनपाठन सहज हुन सकेको छैन । “कोठाभरी हिलो छ यस्तो अवस्थामा कसरी पढ्ने” विद्यार्थीहरु गुनासो पोख्छन् । विद्यालयका प्रत्यक कोठामा हिलो भरिएको छ । यसले गर्दा विद्यार्थीहरुलाई पठनपाठनमा प्रभाव पारेको शिक्षक गगन वलीले बताए । वलीका अनुसार तत्काल विद्यालय वरपरको पर्खाल निर्माण नगरे विद्यालयले ठूलो क्षति व्यहोर्नु पर्ने अवस्था आउने छ । केही हदसम्म यसको जिम्मा ठेकेदार बुढाथोकीले लिनुपर्ने बताइएको छ ।