नेपालमा धान दिवस कहिलेदेखि मनाउन थालिएको हो ?
  • विदुर न्युज

जाजरकोट । असार १५, अर्थात् “राष्ट्रिय धान दिवस”, ‘कृषि भूमिको संरक्षण गरौँ, धानको उत्पादन बढाऔँ’ भन्ने नाराका साथ यो दिवस मनाइन्छ। आजको दिनलाई “रोपाई महोत्सव” वा “रोपाई दिवस” को रूपमा पनि चिनिन्छ। हाम्रो देश नेपाल, कृषि प्रधान देश भएकोले यहाँ परम्परादेखि नै असार १५ लाई दही–चिउरा खाएर मनाइने पनि गरिन्छ।

नेपालले वि। सं २०६१ साल देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ। कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो ।

किम्बदन्ती अनुसार कपिलवस्तु जिल्लाको ऐतिहासिक स्थान तिलौराकोट राज्यमा राजा शुद्धोदनले सुनको हलोले खेत जोतेर धान रोप्ने प्रचलन चलाएका थिए। पछिल्लो समयमा भने कृषकहरूको श्रमको सम्मान गर्ने उद्देश्य अन्तर्गत कृषि मन्त्रालयले यो दिनलाई ‘राष्ट्रिय धान दिवस” का रूपमा मनाउन थालेको हो ।

नेपालमा, आजको दिन धान दिवस विभिन्न प्रकारले मनाउने गरिन्छ। सरकारले सरकारी तवरबाट यो दिवसलाई आफ्नो कार्यक्रम गर्दै मनाउँछ भने ग्रामीण भेकका किसानहरूले आफ्नै तौर तरिकाले मनाउने गर्दछन् । असार १५ को दिन एक फेर मात्रै भए पनि हिलो टेक्नु र खेल्नु भन्ने मान्यता रही आएको छ। यस दिन रोपाइलाई पर्वको रूपमा मनाइने हुँदा खेतको हिलोमा पसेर असारे गीत गाउँदै, छुपु(छुपु गर्दै धान रोप्ने चलन रही आएको छ।

नेपाली समाजमा परापूर्व काल देखि नै असार १५ मा दही(चिउरा र साउन १५ मा खीर खाने चलन रहेको छ। नेपालमा, असारको १५ गते वर्षकै सबैभन्दा लामो दिन मानिने हुँदा हिलोमा गाइने असारे गीतले पनि आजैको दिन देखि दिन छोटा र रात लामा हुँदै जाने हुँदा हिउँदको सुरुवात भयो भन्ने गर्छ।

आजको दिन, हलगोरुले हिल्याएको खेतको हिलोमा छुपु(छुपु धान रोपेर आपसमा रमाउने र बाउसेहरू एक आपसमा हिलो छ्यापाछ्याप गरी हिलो खेल्दै अन्न दिने माटोलाई माया गर्ने गर्छन। असारे गीतका भाकाहरू मार्फत एक आपसमा माया(पिरती साट्न समेत आजको दिन प्रयोग भएको देखिन्छ। दही चिउरा सँग अचार र आप् जस्ता फलफूल सहित कृषक हरूले आजको दिन खेतमै खाजा खादै र गीत गाउँदै मनाउने चलन रही आएको छ।

 

  • १५ असार २०८२, आईतवार ०८:०९ प्रकाशित
  • सम्बन्धित