जाजरकोट । जाजरकोट जिल्लाको छेडागाड नगरपालिकामा भोलि(२६ माघ) देखि जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग सिल्डमा सन्चालन हुन लागेको छ। अघिल्लो वर्ष सिल्ड हत्याएको छेडागाडले यस वर्ष जिल्ला स्तरीय सिल्ड आयोजना गर्ने अवसर पाएको हो । सिल्ड खेल्न जिल्लाका सात स्थानीय तहबाट ८-१२ कक्षामा पढ्ने १८ वर्ष मुनिका विद्यार्थी खेलाडीहरुले सहभागी जनाउन पाउने छन।
रनिङ्ग सिल्डको मापदण्ड विपरीत कुनै पनि खेलाडी फर्जी हाली खेलमा मेडल प्राप्त गरे उक्त खेलाडिको मेडल खोसिने जिल्ला खेलकुद विकास समिति जाजरकोटका अध्यक्ष नर बहादुर (एन.वि) बस्नेतले बताए । बिहिबार जिल्ला स्थित पत्रकारहरुसंगको भेटघाटमा बस्नेतले सो कुरा बताएका हुन। बस्नेतले भने,’ फर्जी खेलाडीले मेडल जिते उक्त व्यक्तिको मेडल खोसेर अर्को खेलाडिलाई दिइने छ।’ सिल्डलाई सफतापुर्वक सम्पन्न गर्न सबैको महत्त्वपूर्ण भुमिका हुने अध्यक्ष बस्नेतले बताए। खेलाडिहरुको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै छेडागाडको स्वास्थ्य शाखा र जिल्ला प्रहरी कार्यालय जाजरकोटसंग समन्वय गरिरहेको बस्नेतको भनाइ छ।
छेडागाडमा सन्चालन हुने १४ औं जिल्ला स्तरीय रनिङ्ग सिल्डमा ५४ मेडलका लागि प्रतिस्पर्धा हुने छ ।अहिले प्रथम आउने पालिकाले अर्को वर्ष सिल्ड सन्चालन गर्न अवसर पाउने छ। सिल्डको उत्घाटन कर्णाली प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले गर्ने बताइएको छ।