भुपेन्द्र नेपाली
जाजरकोट । भूकम्प प्रभावित क्षेत्रका नागरिकहरुको स्वास्थ्यमा विभिन्न खालका स्वास्थ्य समस्या देखा पर्न थालेका छन् । त्रिपाल मूनिको बसाईँ हुदाँ चिसोका कारण स्वास्थ्यमा समस्या देखा परेको हो । भूकम्प गएको दुई महिना पुग्दा पनि पूर्ण रुपमा अस्थायी आवास निर्माण नहुँदा चिसोका कारण भूकम्प पीडितको स्वास्थ्य समस्या उत्पन्न हुन थालेको बारेकोट गाउँपालिका २ का स्थानीय जयराज नेपालीले बताए । उनले भने ‘अस्थायी आवास निर्माण हुन नसक्दा चिसोका कारण नागरिकको स्वास्थ्यमा समस्या देखा परिरहेको छ ।’
भूकम्प गएको समयमा राज्य संयन्त्रले विभिन्न खालका स्वाथ्य शिविरहरु सन्चालन गरेता पनि अहिले त्यस्ता स्वाथ्य शिविरहरु सञ्चालन हुन नसक्दा भूकम्प प्रभावित क्षेत्रका नागरिकहरुको स्वाथ्य परिक्षण समस्या भएको बारेकोट गाउँपालिका ४ स्थानीय कालीबहादुर नेपालीले बताए । उनले भने ‘स्थानीय स्वास्थ्य चौकी संस्थाहरुमा उचित औषधी उपचार हुन सकेको छैन् ।’
उनले थपे ‘नागरिको स्वास्थ्य समस्याको परिक्षण गरि उचित उपचारका गर्नका लागि पूनः विभिन्न खालका स्वास्थ्य शिविरहरु सञ्चालन गर्न आवश्यक छ ।’
राज्यबाट हुनुपर्ने कार्यले तिब्रता पाएको छैन् । कात्तिक २६ गते नै आवास निर्माणको कार्यविधि पास गरेको सरकारले भूकम्पपीडितलाई दिनुपर्ने ५० हजार रकम वितरण गर्न सकिरहेको छैन । दुई किस्तामा वितरण हुने भनिएको उक्त रकमको पहिलो किस्ता पनि सबैले प्राप्त गर्न नसकेको बारेकोट गाउँपालिका २ का स्थानीय राजेन्द्र नेपालीले बताए । उनले भने ‘राज्यको घुमाउरो प्रक्रियाका कारण अस्थायी आवास निर्माणको रकम वितरणमा ढिलाइ भइरहेको छ । यसको प्रभाव अस्थायी आवास निर्माणमा परेको छ ।’