काठममाडौँ ।
इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन केही ढिलाई हुने भएको छ।
परराष्ट्र मन्त्रालयले बुधवार अपरान्ह पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायल सरकारले शव हस्तान्तरण गरेपछि मात्रै सो शव नेपाल ल्याउन सकिने बताए।
उनले उनीहरूको शव छिटो ल्याउन सरकारले सहकार्य गरिरहेको र अहिले ती शवहरू इजरायल सरकारको संरक्षणमा सुरक्षित रहेको स्पष्ट पारिन्।
उनका अनुसार नेपाल फर्कन चाहनेहरूलाई ल्याउन बुधवार (आज) राति नेपाल एयरलाईन्सको वाइडबडी विमान त्यसतर्फ पठाईनेछ।
इजरायलमा नेपालको नियमित उडान पनि भएकाले आउन इच्छुक नेपालीहरूका लागि त्यहाँस्थित नेपाली दुतावासले सहजीकरण गर्ने पनि प्रवक्ता लम्सालले बताइन्। नेपाली लिन जाने उक्त विमानमा परराष्ट्रमन्त्री एनपी साउद पनि जाने छन्।
उनले भनिन्, ‘अज्ञात रहेका विपिन जोशीको हकमा इजरायल सरकारको समन्वयमा निरन्तर खोजी कार्य जारी छ। मृतकहरूको शव यथाशीघ्र छिटो नेपाल ल्याउनेगरी हामीले समन्वय र सहकार्य गरिरहेका छौं। इजरायल सरकारबाट शव हस्तान्तरणको प्रक्रिया सकिनासाथ शवहरू नेपाल ल्याई सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने कार्यमा हामी क्रियाशील छौँ।’
हालसम्म २८८ जनाभन्दा बढीले नेपाल फर्कन चाहेका छन्। नेपाल फर्कन चाहनेका लागि नेपाल एयरलाईन्सको २५० सिट क्षमता भएको बाईडबडी विमान आज राति नै इजरायल प्रस्थान गर्दैछ।
इजरायलबाट नियमित वायुसेवा पनि चलिरहेकाले फर्कन इच्छुक नेपालीलाई नेपाली दुतावासले सहजीकरण गर्ने उनले बताइन्।
प्रवक्ता लम्सालले घाइते रहेका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएको पनि जानकारी दिइन्। अन्य २ जनाको भने उपचार जारी रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ।