जाजरकोटमै थाइराइडको उपचार सुरु
  • विदुर न्युज

जाजरकोट ।

जिल्ला अस्पताल जाजरकोटमा पहिलो पटक थाइराइडको उपचार सेवा सुरु गरिएको छ । मंगलबार देखि औपचारिक रुपमा सेवा प्रवाह सुरु गरिएको हो ।

थाइराइडको उपचार गर्न जिल्ला वासीहरु रुकुम पश्चिमको चौरजहारीको मिसन अस्पताल,नेपालगंज र कर्णाली प्रदेशको राजधानी सुर्खेत जानुपर्ने बाध्यात्मक परिस्थिति थियो । जिल्लामै सेवा सुचारु भए संगै उपचारको लागि बिरामीहरु बाहिर जानु नपर्ने जिल्ला अस्पताल जाजरकोटकी प्रमुख डा. प्रतिक्षा भारतीले बताइन् । थाइराइडको सेवा हरेक मंगलबार र विहीबार सुचारु हुनेछ ।

जिल्लामै थाइराइडको उपचार हुने भए देखि जिल्ला वासीहरु निकै खुसी भएका छन् । जिल्ला बाहिर गएर उपचार गर्न पर्ने अवस्थाबाट छुटकारा मिलेको स्थानीय पूर्ण बहादुर सुनारले बताए । जिल्लामै सेवा पाइने भएपछि समय र पैसाको पनि बचत हुने भेरी नगरपालिका १ का बिर बहादुर विक ले बताए ।

५० शैयाँको जिल्ला अस्पताल बनेपछि आवश्यक उपकरण र दक्ष जनशक्ति अभावले समस्या भएपनि अस्पताल भवन नयाँ बनेपछि सेवा प्रवाह विस्तारको तयारी गरिएको अस्पताल विकास समिति जाजरकोटका अध्यक्ष डम्बर सिंहले बताए ।

हालसालै भवन हस्तान्तरण भएकोले सेवा प्रवाहका लागि आवश्यक तयारी भईरहेको अध्यक्ष सिंहले बताए ।

  • ३० श्रावण २०८०, मंगलवार २२:४४ प्रकाशित
  • सम्बन्धित