जाजरकोट ।
जाजरकोटको एक शिक्षालयका विद्यार्थीहरुले शिक्षकलाई न्याय दिलाउन शिक्षालयमा ताला लगाएका छन् । जाजरकोटको भेरी नगरपालिका ५ मा रहेको जाजरकोट बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरुले शिक्षालयका प्रिन्सिपल दान बहादुर ठकुरीलाई न्याय दिलाउन शिक्षालयमा ताला लगाएका हुन् । सोमबार प्रिन्सिपल ठकुरीका लागि विद्यार्थीहरुले ताला लगाएका हुन् ।
आइतबार एमालको भातृ संगठन अनेरास्ववियु आफ्नो संगठन विस्तार गर्न बहुप्राविधिक शिक्षालयमा पुगेको थियो । सोही क्रममा सहयोगका लागि भनेर अनेरास्ववियुका नेताहरुले प्रिन्सिपल ठकुरीसंग ५० हजार मागेको र ठकुरीले दिन सकिन्न भने पछि उनलाई धम्कि दिइएको त्यहाका एक शिक्षकले बताए । धम्कि पछि प्रिन्सिपल ठकुरी आफू असुरक्षित रहेको भन्दै शिक्षालयबाट भागेको बताइएको छ ।
प्रिन्सिपल ठकुरी शिक्षालयबाट भागे पछि शिक्षकलाई धम्कि दिने अनेरास्ववियुका नेतालाई कार्वाहीको माग गर्दै सोही शिक्षालयमा पढ्ने विद्यार्थीहरुले ताला लगाएका हन् । शिक्षालय जस्तो पवित्र स्थानमा आएर राजनीति गर्नु र शिक्षकलाई धम्कि दिनु सही नभएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएको विद्यार्थी कृष्ण खत्रीले बताए । प्रिन्सिपल ठकुरीलाई सम्मानका साथ शिक्षालयमा उपस्थित गराउन पनि विद्यार्थीहरुले माग गरेका छन् ।
उता संगठन विस्तार गर्ने क्रममा शिक्षक ठकुरी अराजक रुपमा आएका कारण केही भनाभन भएको र सही ढंगले विद्यालय चलाउन नसक्ने भए छोडेर जान अपिल गरिएको अनेरास्ववियुका विद्यार्थी नेता बिबश भारतीले बताए । विद्यार्थी संगठन विस्तार गर्न पाउने विद्यार्थीको अधिकारलाई बन्चित गर्न खाजेका कारण प्रिन्सिपल ठकुरीलाई सम्झाएको अनेरास्ववियुका नेताहरुको भनाइ छ ।
मंगलबार विद्यालयको समस्या समाधान गर्न भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्ति स्वयम आफै शिक्षालयमा पुग्ने बताइएको छ । त्यहाका विद्यार्थी र शिक्षकहरुसंग छलफल गरेर आजै ताला खोल्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले बताएको छ ।