आज विपी स्मृति दिवस । नेपाली राजनीतिका शिखर पुरुष तथा नेपाली जनताले चुनेका पहिलो प्रधानमन्त्री जननायक विपि कोइराला भौतिक रुपमा अवशान भएको दिन साउन ६ गते ।विपी कोइरालाको मृत्यु भएको आज ४१ वर्ष वित्यो । यो ४१ वर्षको समय एउटा समाज र देश निर्माणका लागि निकै प्रयाप्त समय हो । गतिलो नेता, चेतनशील जनता र कानुनी राज भए समृद्धिका लागि एउटा स्वर्ण युग निर्माण गर्ने अवधि हो यो । विपी नेपाली काँग्रेस पार्टीको निर्माता मात्र नभएर नेपालको लोकतन्त्रको समेत मुख्य सुत्रधार हुन ।
000
त्यो समयमा राणा र राजावाट शासन खोसेर जनताको हातमा थमाउने काम सजिलो थिएन तर पनि विपीले जनताको सहभागितामा अजेय क्रान्ति सुरु गरेर त्यो काम पुरा गरे । त्यो वेलाको समय र जनतामा न्युन चेतना स्तर हुदा पनि विपीले लोकतन्त्रका लागि अभुतपुर्व जनएकता र दवाव सिर्जना गर्न सफल भए । उनले उ वेलाको मात्र नभइ पछिल्लो नेपाली समय र परिस्थितिलाइ समेत न्यायपुर्ण सम्वोधन हुने प्रकारको राजनैतिक व्यवस्थाको कल्पना गरे । अर्थ व्यवस्थाको कल्पना गरे । स्पष्ट रुपमा भन्नु पर्दा नेपाली माटो सुहाउदो लोकतान्त्रिक समाजवादको विशिष्ट कल्पना गरे । सोहि अनुसार वहुदलीय र वहुलवादी लोकतन्त्र वहाली गर्न सफल पनि भए ।
000
त्यसैले उनको नेतृत्व क्षमता र विचार सिद्धान्तको काँग्रेसीहरुले मात्र नभएर कम्युनिष्टहरुले पनि प्रशंसा गर्छन् । तर आज न उनले सुत्रधार गरेको लोकतान्त्रिक शासन जनप्रिय वन्दै गयो न उनले जन्माएको नेपाली काँग्रेस ओजिलो वन्दै गयो । दोषै दोषको भारि वोकिरहेको अहिलेको हाम्रो लोकतन्त्र र विभिन्न घातक रोगले ग्रस्त भएको काँग्रेसको उपचार अहिलेको काँग्रेस नेतृत्ववाट सम्भव छ कि छैन त्यो प्रष्ट भइ सकेको छ । यसका लागि सच्चिनुपर्ने को हो त्यो पनि प्रष्ट छ । शेरवहादुर देउवा ५ पटक प्रधानमन्त्री हुनु, स्वर्गिय गिरीजाप्रसाद कोइराला वाँचुन्जेल पार्टीको नेतृत्व र सत्ताको वरिपरि भइरहनुलाइ असली लोकतन्त्र मान्न थालेकै दिन देखि नेपाली काँग्रेसको विचार सिद्धान्त र आदर्शमा ग्रहण देखिन थालेको जस्तो लाग्छ ।एउटा जीवन्त लोकतान्त्रिक पार्टीमा कुनै व्यक्ति वाचुन्जेल पार्टी र सत्ताको नेतृत्वमा रहिरहने अवस्था र वातावरण वन्नु नै त्यो पार्टी लोकतान्त्रिक चरित्रवाट विभुख भएको प्रमाण हो ।
0000
जुन सुकै प्रक्रिया गरेर भएपनि एकै व्यक्तिलाइ पटक पटक सत्ता र शक्तिको नेतृत्वमा पुरयाउने दासी कार्यकर्ता, विद्यान र प्रक्रियाहरु हामीले देखेको सुन्दर सपना अनि पार्टीको आदर्श र सिद्धान्तका विरुद्ध छन् । एउटा व्यक्ति तीस चालिस वर्ष सम्म एकै पद र जिम्मेवारीमा रहन सक्ने अनि जोस जाँगर सपना र आत्मविस्वास वोकेका नयाँ अनुहारहरु पटक पटक जनतामा परीक्षण भएर अयोग्य सिद्ध भएकाहरुको भजन गाँउदै आफनो जवानी र उमेर समयको अग्नीमा सेलाउदै जानु पर्ने कुनै लोकतान्त्रिक अभ्यास हुन्छ ? एक पटक होइन पटक पटक जनताले अस्वीकृत गरेका व्यक्तिहरु पनि छड्के मारेर सत्ता र शक्तिमा पुग्न मिल्ने सँस्कारमा हामीले उन्नत लोकतन्त्रको सफल अभ्यास कसरी गर्न सक्छौं ? जनताको विचमा जादा सधैं विपी कोइरालाको वारेमा वयान गर्छाैं, विपीको नाम भजाएर आफनो राजनीति गोडमेल गर्छाैं तर विपीको योगदानको व्याज जनतावाट असुल्न खोजेर काँग्रेसले हिजोको विरासत फर्काउन सक्छ जस्तो लाग्दैन ।आज देशका सामु उभिएका तमाम समस्याहरुवाट जनता ग्रस्त छन् ।
000
यो वेला काँग्रेस किन आफनो विचार आदर्श र अडानमा स्पष्ट छैन? विधि र कानुनी शासनको पक्षधर काँग्रेस, लोकतन्त्रको वलियो पहरेदार काँग्रेस, निरंकुशता, लुट र भ्रष्टाचारको विरुद्धमा लड्नकै लागि भनेर जन्मिएको काँग्रेस अनि पारदर्शिता, सुशासन र संगठित आन्दोलनका लागि स्थापित काँग्रेस आज सारा भातृ सँस्थाहरुको संगठन अस्त व्यस्त र अवैधानिक हुदा सम्म किन चुप छ ? आफनो मातहतका भातृ तथा भगिनी सँस्थाहरुलाइ समेत नियमित गर्न नसक्ने पार्टीले देशको समग्र व्यवस्थालाइ सफल नेतृत्व प्रदान गर्न सक्छ भनेर जनताले कसरी विस्वास गर्ने ?पार्टीको महाधिवेशन भइसकेपछि निर्धारित समय भित्र पुरा गर्नु पर्ने जिम्मेवारी पुरा गर्न सकिदैन भने अरु राष्टिय कार्यभार कसरी पुरा गर्न सकिएला ? आफनै पार्टी भित्रको गुट र उपगुटलाइ समाप्त गर्न गतिलो नेतृत्वसीप देखाउन सकिदैन भने राष्ट्रिय एकता र मेलमिलापका लागि कसरी भुमिका निभाउन सकिएला ? जनआन्दोलन र जनक्रान्तिको भरभराउदो प्रभाव र तेज कायमै रहेको जस्तै गरि जनताको विचमा गएर विपीको योगदान र पार्टीको इतिहास भटटयाउनु अघि २००७ साल र २०४६ साल देखि २०८० साल विचको दुरीको हिसाव गर्ने कि नगर्ने ? जनताको आवाज वोल्दा वोल्दै या जनताको एजेन्डाका लागि लड्दा लड्दै जेल परेर छुटेका नेताहरुको जस्तो क्रान्तिकारी सोच र नेतृत्व क्षमता अहिले कोहिसंग देखिएको छैन ।
0000
हिजो विपी थिए र काँग्रेस जन्मियो । हिजो गणेशमान, कृष्णप्रसाद र सुवर्ण सम्शेर थिए र पो काँग्रेस फल्यो फुल्यो तर आज को छ ? मुलुकमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाको ६ महिनामै यत्रो जनमत सहित संसदमा कसरी आयो? विभिन्न स्थानहरुमा स्वतन्त्र उम्मेदवारहरु प्रति जनताको आकर्षण किन वढ्यो? काँग्रेस लगाएतका पार्टीहरु प्रति किन घट्दै गयो ?काँग्रेसको जनमत भारि मात्रामा कम्युनिष्टतिर कसरी गयो ? यी सवालहरु जनता र नयाँ युवाहरुले उठाए भने के जवाफ दिने ?हिजोको काँग्रेस र आजको काँग्रेसमा आकास पाताल सम्मको दुरी कसरी कायम भयो ?हिजोका नेताहरुको चरित्र र त्याग र व्यवहार र आजका नेताको चरित्र त्याग र व्यवहारमा फरक आउनुको कारण के हो ? के यी प्रश्नको उत्तर विपीको योगदान र पार्टीको इतिहास भटट्याएर मात्र दिन सकिन्छ ? काँग्रेस जन्मिदै गर्दा कल्पना गरिएको लोकतन्त्र र अहिले भोगिरहेको लोकतन्त्रका विचमा यति धेरै फरक किन ? यी प्रश्न र सवालहरु आम जनमानसमा खरो रुपमा जागिरहेका छन् ।