कर्णालीमा पहिलो पटक युवा महोत्सव हुदै
  • विदुर न्युज

सुर्खेत।

कर्णाली प्रदेशमा प्रादेशिक नीति संवाद एवम् कर्णाली युवा महोत्सव हुने भएको छ। यो कर्णाली प्रदेशमा पहिलो पटक हुन लागेको हो।

बालबालिका, किशोर(किशोरी तथा युवाको क्षेत्रमा काम गर्दै आएको संस्था युवालयको आयोजनामा आइतबार र सोमबार दुई दिने युवा महोत्सव गर्न लागिएको हो।

राष्ट्रिय युवा परिषद्को सहकार्य र कर्णाली प्रदेश सरकारसँगको समन्वय तथा विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ संस्थाको सहयोगमा महोत्सव गर्न लागिएको युवालयले जनाएको छ।

महोत्सवमा वित्तिय साक्षरता, उद्यमशिलता, सुरक्षित वैदेशिक रोजगारी, सीप तथा अवसर, गलत वा मिथ्या सूचना, दुष्प्रचार तथा घृणित अभिव्यक्ति लगायतका विषयमा विज्ञहरूबाट अभिमुखीकरण प्रदान गरिनेछ।

महोत्सव अवधिभर युवाहरूको अर्थपूर्ण सहभागितामा युवा लक्षित प्रदेशस्तरको नीति तथा कार्यक्रममा छलफल सत्र सञ्चालन गर्ने, बालविवाह अन्त्यका लागि साझा संकल्प लिने, लैंगिकतामा आधारित हिंसा, यौन, प्रजनन स्वास्थ्य र अधिकारका बारेमा युवालाई सचेत गराउँदै युवामैत्री प्रदेश निर्माणमा उनीहरूलाई परिचालनको प्रयास गरिने युवालयका अध्यक्ष सन्तोष मर्हजनले जानकारी दिए।

महोत्सवमा कर्णाली प्रदेशका १० वटै जिल्लाका युवाहरूको प्रतिनिधित्व रहने उनले बताए।

महोत्सव अवधिमा हुने छलफलबाट उठेका मुख्य मुद्दाहरूलाई समेटेर घोषणापत्र जारी गरिनेछ। उक्त घोषणापत्र सरोकारवाला निकायलाई हस्तान्तरण पनि गरिने महर्जनले जानकारी दिए।

  • २३ बैशाख २०८०, शनिबार १९:३३ प्रकाशित
  • सम्बन्धित