काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठबन्धन सरकारमा सहभागी नहुने भएको छ। साथै उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ।
संसदको चौथो ठूलो दल रास्वपाको शुक्रबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा नजाने र समर्थन फिर्ता लिने निर्णय गरेको हो।
रास्वपाभित्र सरकारमा जाने र नजाने दुई धार देखिएको थियो। गत सोमबार बसेको बैठकमा नै सरकारमा सहभागी हुने नहुनेबारे निर्णय गर्ने भनिए पनि दुई धार देखिएपछि बैठक ४ दिनका लागि पछि धकेलिएको थियो।
रास्वपा सभापति रवि लामिछाने गृह मन्त्रालय लिएर सरकारमा जाने तयारीमा रहँदा पार्टीभित्र सरकारमा सामेल नभएर प्रतिपक्षमा बस्नुपर्ने मत पनि ठूलो देखिएको थियो। आजको बैठकले गरेको निर्णयले प्रतिपक्षमा बस्नुपर्ने पक्षमा रहेकाहरुको बहुमत पार्टीमा शक्तिशाली देखिएको छ।
यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा रास्वपाले उपप्रधानसहित गृह, शिक्षा‚ विज्ञान तथा प्रविधि र श्रम‚ रोजगार तथा सामाजिक विकास मन्त्रालय पाएको थियो।
रास्वपाले भनेबमोजिम जुनसुकै कालखण्डका भ्रष्टाचारको फाइल खोल्ने सरकारको नीति तथा कार्यक्रम रहेकोमा अहिले सरकारले सो बुँदालगायत सुशासनका बुँदा हटाएको भन्दै सरकारबाट समर्थन फिर्ता लिएको हो।
राष्ट्रपति निर्वाचनमा पनि उसले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरेको थियो।