काठमाडौं ।
शिक्षक सरुवाका लागि सहजीकरण गर्न घुस लिने शिक्षा अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
ललितपुर महानगरपालिका शिक्षा शाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। पौडेललाई अख्तियारको टोलीले सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग एक लाख रुपैयाँ लिएको पुष्टि भएपछि सोही रकम बराबर बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
पौडेलविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ अनुसार जरिवाना र उपदफा १ को खण्ड ग अनुसार कैद सजाय हुन मागदाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको छ।