जाजरकोट ।
बारेकोट गाउँपालिकाको लिम्सामा निशुल्क दुई दिने मोतिविन्दु शल्याक्रिया शिवीर सम्पन्न भएको छ । मंगलबार र बुधबार संचालन गरिएको शिविरलाई बिहिबार बिहान औपचारिक कार्यक्रमको आयोजना गरेर सम्पन्न गरिएको हो ।
आधारभुत गाउँ अस्पताल लिम्सामा रहेको वीरेन्द्र ऐश्वर्य प्राथमिक विद्यालयमा उक्त शिविर संचालन गरिएको थियो । शिविरबाट ५३ जनाको सफल मोतिविन्दु अप्रेशन भएको डा. मन्जु पन्तले जानकारी दिएकी छन् । आँखा अप्रेशन गरिएका बिरामीहरुलाई निशुल्क औषधि र चश्मा वितरण गरिएको छ ।
डा.मन्जु पन्तको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीहरुको टोलीले गरेको सफल मोतिविन्दु अप्रेशनबाट संसार देख्न सक्ने भएपछि सय बर्षकी रामकली विक खुशीले गदगद भएकी छन् । रामकली बारेकोट गाउँपालिका–८ सेपुखोलाकी स्थायी बासिन्दा हुन् । कुनै पनि बस्तु देख्न नसक्ने भएको आँखा सय बर्षको उमेरमा फेरी देख्न सक्ने भएपछि रामकलीले आफ्नो पुनर्जन्म भएको बताएकी छन् । अप्रेशन पश्चात देख्न सक्ने भएपछि बाल्यकालदेखि जवानीसम्ममा घुमफिर गरेको भुगोल तथा गाउँबस्तीलाई राम्रोसंग आँखाले निहाली रहेकी रामकलीले पुराना दिनहरुलाई सम्झदै खुशी व्यक्त गरेकी छन् । सय बर्षको उमेरमा आफुलाई फेरी देख्न सक्नेगरी आँखा अप्रेशन तथा उपचार गरिदिने चिकित्सक र सबै स्वास्थ्यकर्मीहरुलाई रामकलीले धन्यवाद दिएकी छन् । ६ भाई छोराकी आमा रामकलीलाई आँखा अप्रेशन गर्न उनका छोराहरुले आलोपालोमा बोकेर मंगलबारनै सेपुखोलाबाट लिम्सा पुर्याएका थिए ।
शिविरबाट शल्यक्रिया गरिएका रामकली सहित ५३ जना मध्ये २० जना पुरुष, ३३ जना महिला रहेको सामुदायिक आँखा उपचार केन्द्र खलंगा जाजरकोटमा कार्यरत प्रदिप जंग शाहले जानकारी दिएका छन् । ५० बर्षभन्दा माथि १०० बर्षसम्मका जेष्ठ नागरिकहरुको आँखा अप्रेशन गरी सेवा गर्ने मौका प्रदान गरेकोमा खुशी व्यक्त गर्दै नेपाल नेत्र ज्याति संघ, सुर्खेतद्धारा संचालित एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमका व्यवस्थापक मान बहादुर बमले बारेकोट गाउँपालिकालाई धन्यवाद दिएका छन् ।
बारेकोट गाउँपालिकाका जेष्ठ नागरिकहरुलाई अन्धोपन मुक्त गराउने उदेश्य राखेर संचालन गरिएको शिविरमा साँझेदार निकायका रुपमा सहयोग गर्ने नेपाल नेत्र ज्योति संघ, नेपाल रेडक्रस सोसाईटी सुर्खेत आँखा अस्पताल र सामुदायिक आँखा उपचार केन्द्र खलंगा जाजरकोटलाई शिविर समापन कार्यक्रममा आफ्नो भनाई राख्दै पालिका उपाध्यक्ष नर बहादुर गिरीले हार्दिक धन्यवाद दिएका थिए । १०० बर्षकी रामकली विकलाई फेरी आँखा देख्न सक्ने बनाएकोमा चिकित्सकप्रति खुशी व्यक्त गर्दै उपाध्यक्ष गिरीले १०० बर्षिय रामकलीलाई खादा लगाएर सम्मान गरेका थिए ।
दुई दिनसम्म संचालन गरिएको शिविरलाई बारेकोट गाउँपालिका र नेपाल नेत्र ज्योति संघ, एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमले आर्थिक सहयोग गरेको थियो भने, नेपाल रेडक्रस सोसाईटी सुर्खेत आँखा अस्पतालले प्राविधिक सहयोग गरेको थियो । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा जाजरकोट तथा सामुदायिक आँखा उपचार केन्द्र खलंगा जाजरकोटको आयोजनामा उक्त शिसिर सम्पन्न भएको थियो ।
उक्त शिविरमा १९६ जना कानका बिरामीहरुको कान परीक्षण गर्नुको साथै सुन्य श्रवण क्षमता भएका २७ जनालाई हेरिङ्गबोर्ड तथा श्रवणयन्त्र वितरण गरिएको थियो । ब्रिटेन नेपाल सामुदायिक कान उपचार सेवा गणेशमान चोक सिद्र्धाथ अस्पताल नेपालगञ्जको आर्थिक तथा प्राविधिक सहयोगमा कान परीक्षण तथा हेरिङ्गबोर्ड वा श्रवणयन्त्र वितरण गरिएको थियो । कान परीक्षण गरिएका १९६ जना मध्ये ९८ महिला र ९८ जना पुरुष रहेको बरिष्ठ कान स्वास्थ्य अधिकृत राम बहादुर बोहोराले जानकारी दिएका छन् । अधिकृत बोहोराले दिएको जानकारी अनुसार परीक्षण गरिएका १९६ जनामध्ये ६४ जनामा कान पाक्ने, ६५ जनामा कान कम सुन्ने समस्या भेटिएको थियो ।