काठमाडौं ।
नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुँदैछ।
सभापति देउवा र महामन्त्री थापाले मंगलबार दिउँसो सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालय पुगेर दलको नेतामा उम्मेदवारी दर्ता गराएका हुन्।
देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल रहेका छन् भने समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन्। साथै थापालाई डा। शेखर कोइरालाले प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेका छन् भने उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सांसद प्रदीप पौडेलले समर्थन गरेका छन्।
कांग्रेसमा संसदीय दलको नेता चयनका लागि निर्वाचन भोलि बुधबार हुँदैछ। छैटौं पटक प्रधानमन्त्री बन्न लागेका सभापति देउवा पार्टीभित्र युवा सांसदहरुको घेराबन्दीमा परेका छन्।
पार्टीमा युवालाई अवसर दिनुपर्ने आवाज उठ्दै आए पनि देउवाको विकल्प खोजिएको थिएन। तर, यसपटक युवा नेताहरूले देउवाको विकल्प खोज्ने भएका छन्।
उमेरले ७६ वर्ष पार गरेका देउवा र ४६ वर्षीय महामन्त्री थापाबीच संसदीय दलको नेतामा प्रतिस्पर्धा हुँदैछ। कांग्रेसले बुधबार संसदीय दलको नेता चयन गर्दैछ। भोली जो दलको नेता चयन हुन्छ पार्टीले प्रधानमन्त्री पाउँदा उही प्रधानमन्त्रीका लागि योग्य मानिन्छ।
यसका लागि दुवै समूहले आफ्नो पक्षमा सांसद तान्न सक्रियता देखाएका छन्। आफ्नो पक्षमा स्पष्ट बहुमत पाएर ढुक्क जस्तै देखिएका देउवालाई ‘झक्झक्याउन’ युवा नेताहरूले सक्रियता देखाएका छन्।
गगनको पक्षमा युवा सांसदहरुको बाहुल्यता देखिएको छ। अन्तिम समयसम्म पनि आफ्नो कित्ता प्रष्ट नपारेका प्रदीप पौडेल, राजेन्द्र केसीसहितका नेताहरू गगनको पक्षमा खुलेपछि देउवा थप दबाबमा परेका छन्।
संस्थापन निकट मानिएका कृष्णप्रसाद सिटौला समूहका नेता पौडेलले एकाएक थापाको पक्ष लिएका हुन्। उनी पार्टीको १४ औं महाधिवेशनमा देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थिए।
पौडेलले प्रतिनिधिसभाको निर्वाचन संस्थापन पक्षबाट जितेका थिए। तर, देउवाबाट परिवर्तनको आशा मारेका उनी कोइराला कित्तामा फर्किएका हुन्। सांसद राजेन्द्र केसीले युवाको पक्षमा लाग्ने बेला आएकोले आफूले गगनको पक्ष लिएको बताए। उनले भने, ‘अन्त जाने कुरै छैन। हामीले युवाको समर्थन गर्नुपर्छ।’
महामन्त्री थापाले उम्मदेवारी फिर्ता लिन सभापति देउवालाई आग्रह गरेका छन्। सिंहदरबारस्थित दलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि उनले शान्त मनले सोच्न र आफ्नो उम्मेदवारी फिर्ता लिने ऐतिहासिक निर्णय लिन सभापति देउवालाई आग्रह गरे पनि देउवाले उनको आग्रहलाई वेवास्ता गरे।
साथै उनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई कांग्रेसको भविष्यप्रति चिन्ता गरेर परिवर्तनको सन्देश मनन गर्न आग्रह गरेका छन्।





















