काठमाडौं
प्यालेस्टाइनको गाजा क्षेत्रमा शरणार्थी शिविरमा आगलागी हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ।
घना आवादी रहेको क्षेत्रमा क्याम्पमा आगलागी भएको जनाइएको छ। आगलागीमा कम्तीमा १० बालबालिका मारिएका छन्। स्थानीय एक अस्पतालमा डाक्टर सलाह अबु लैलाले जाबलिया क्याम्पमा भएको आगलागी नियन्त्रणमा आइसकेको तर मृत्यु हुनेको संख्या भने बढ्न सक्ने बताएका छन्।
त्यहाँका स्थानीय सुरक्षा अधिकारीले ग्यास लिक भएको आगो लागेको प्रारम्भिक अनुमान गरेका छन्। जाबलिया गाजामा भएका ८ शरणार्थी क्याम्पमध्ये एक हो। गाजामा सानो भूगोलभित्र लाखौँ मानिस बस्दै आएका छन्।
संयुक्त राष्ट्र संघको एक तथ्यांकअनुसार यस क्षेत्रमा ६ लाख शरणार्थीसहित झण्डै २३ लाख मानिस बस्दै आएका छन्।
औषतमा यो क्षेत्रमा एक वर्ग किलोमिटर क्षेत्रमा झण्डै ५ हजार ७ सय मानिस बस्ने गरेका छन्। यो विश्वकै सबैभन्दा धेरै जनघनत्व भएको क्षेत्र हो।