आगामी भदौबाट पोखरामा हट एयर बलुन पुनः सञ्चालनमा आउने भएको छ । कोरोनाका कारण बन्द रहेको उक्त एड्भेन्चर ‘बलुन नेपाल प्रा.लि’ले पुनः सञ्चालनमा ल्याउने भएको हो ।
यसअघि उक्त कम्पनीले पोखरामा सन् २०१८ नोभेम्बर १६ देखि हट एयर बलुनको उडान सुरु गरेको थियो । हट एयर बलुन फेवातालको माथिल्लो किनार पामेबाट उडान सुरु गरिनेछ । फेवा किनारबाट तीन देखि चार हजार मिटर उचाइ लिँदै गर्दा सुन्दर पोखरा उपत्यका र आसपास छर्लङ्गै देखिन्छ ।
बलुनले सराङ्कोट डाँडा नाघेपछि अन्नपूर्ण हिमशृफ्लाको अदभूत दृश्य हेर्न पाइन्छ । वर्षायामका तीन महिना असार साउन र भदौबाहेक हरेक महिना मौसम अनुकुल भएको दिन उडान भरिने कम्पनीले जनाएको छ ।
यो एड्भेन्चरका लागि नेपालीलाई प्रति व्यक्ति ८ हजार रुपैयाँ र विदेशीलाई प्रति व्यक्ति १ सय यूएसडी (नेपाली १२ हजार ६ सय रुपैयाँ) लाग्ने कम्पनीले जनाएको छ । साथै प्रती व्यक्ति २० हजार डलर बराबरको इन्स्योरेन्स समेत रहेको कम्पनीले जनाएको छ ।
बलुनको उडान अवधि ३० देखि ४० मिनेट रहनेछ । २१ मिटर अग्लो बलुनको तल्लो भागमा ३२ वर्ग फिटको बास्केट जडित छ । बास्केटमा ८ जनाले एकै पटक यात्रा गर्न मिल्छ ।